काठमाडौं । सहिद दिवसको अवसर पारेर नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले कला प्रदर्शनीको आयोजना गरेको छ । मङ्गलवारबाट नक्सालस्थित प्रतिष्ठान परिसरमा ‘राष्ट्रिय चेतना र सहिदको भावना’ विषयक सो प्रदर्शनीको उद्घाटन प्रतिनिधिसभा सदस्य पूर्णबहादुर घर्तीले एक समारोहका बीच गरे । उनले देशका लागि विभिन्न समयमा भएका आन्दोलनमा सहादत प्राप्त गर्ने सहिदहरूप्रति श्रद्धासुमन व्यक्त गर्दै कलाकारले आफ्ना कलामार्फत सम्मान गरेको धारणा व्यक्त गरे । उनले भने, ‘हामीले हालसम्म प्राप्त गरेका कुराहरू जनतालाई बुझाउन सक्नुपर्दछ । यसमा कलाकारले आफ्ना सिर्जनामार्फत देश निर्माणमा सहिदको सपनालाई साकार पार्न लाग्नुपर्दछ ।’ घर्तीले समाज रुपान्तरणमा सहिदले देखाएको सपनालाई पूरा गर्न राजनीतिक नेतृत्व, कलाकार, आमनागरिकलगायत सबै लाग्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा अग्रज कलाकार मदन चित्रकारले कलाकारले सहिदका जीवनमा आधारित कलाकृति बनाउनुपर्ने र यस्ता कामलाई ग्यालरीमार्फत आममानिससम्म पु¥याउनुपर्नेमा जोड दिए । उनले सहिदका विविध विषयलाई कमिक्स, स्टोरी बुक, इलस्ट्रेसनमार्फत पनि समेट्नुपर्ने धारणा राखे । उनले भने, ‘कलामार्फत कलाकारले सहिदको योगदानलाई उतार्नु पर्दछ ।’
प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र थुम्केलीले नेपालको संविधान २०७२ को मूल मर्मलाई आत्मसात् गर्दै परिवर्तनका लागि भएका देशभक्तिपूर्ण आन्दोलन, सङ्घर्ष, बलिदान, सहिदको उत्सर्ग र त्यागलाई कलाकारले कलामार्फत प्रस्तुत गरेको बताए । उनले भने, ‘सामाजिक रूपान्तरण, जागरण, चेतना, स्वाधीनता, माटो, लोकतन्त्र, वीरता, सहिदप्रतिको सम्मान, एकतालगायतका भाव एवं विषयवस्तुलाई समेटेर प्रदर्शनीको आयोजना गरिएको हो ।’ सो प्रदर्शनीमा कुलपति नारदमणि हार्तम्छाली, उपकुलपति लालकाजी लामा, देवेन्द्रकुुमार काफ्ले, पाल्साङ्मो लामा, प्रदिप अधिकारी, सौरगंगा दर्शनधारी, दिनेश्वर महतो, सञ्जय वान्तवा राई, अरुणा हिङमाङ, सङ्गी श्रेष्ठ, जुपिटर प्रधान, एस.सी. सुुमन, राजन काफ्ले, राखी कर्ण, सुुभाद्री सुुभा, तुुलसीराम भण्डारी, लक्ष्मण मण्डल, सरिता मण्डल, रुक्साना (मङ्गली) महर्जन, सुुष्मा श्रेष्ठ, रामकृष्ण थापा, सुुवास आचार्य, सिकेन्दर चौधरी, लिलाधर के.सी., भीमबहादुर श्रेष्ठ, रेनुका महर्जन, सुरेम देशार, विवेक मुकारुङ, चन्द्रा श्रेष्ठ, राकेशचन्द्र श्रेष्ठ, दीपेन्द्रमान बनेपाली, किशोर नकर्मी, विनोदकुमार गुप्ता, एनबी गुरुङ, केशवराज खनाल, श्यामसुन्दर यादव, विक्रम प्रजापति, नारायणप्रसाद बोहजु, नेमबहादुर तामाङ, सुदनकुमार सिंह, विपना महर्जन, राजकुमार राना, कान्छाकाजी भासिमा, मंगोलपुत्र, मनरा प्रजापति, राजेन्द्र याकामी, महेश बास्ताकोटी, प्रकाश मानन्धर, एविना भडेलगायतका कलाकारका ५४ कलाकृति राखिएका छन् । कार्यक्रममा प्रतिष्ठानका पदाधिकारीहरू, प्राज्ञसभा सदस्य, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संस्कृति महाशाखाअन्तर्गतको संस्कृति शाखाका उपसचिव शिवराज रेग्मी, पुतलीबजार प्रज्ञा–प्रतिष्ठानका कुलपति विश्वप्रेम अधिकारी, कलाकार, पत्रकारलगायतको उपस्थिति रहेको थियो ।
Facebook Comments Box