भक्तपुर, १८ माघः बागमती प्रदेशभित्रका प्रादेशिक अस्पतालहरूमा यही माघ २२ गतेदेखि बिहान ८ बजेदेखि बहिरङ्ग सेवा (ओपिडी) सुरु हुने भएको छ । आज भक्तपुरमा आयोजित एक कार्यक्रममा प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले आगामी २२ गतेदेखि सबै प्रादेशिक अस्पताल बिहान ८ बजेदेखि सञ्चालन हुने जानकारी दिनुभयो ।
माघ २२ गतेदेखि पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी खोप अभियान सञ्चालनसँगै प्रादेशिक अस्पतालको सेवा विस्तार गर्न थालिएको उहाँले बताउनुभयो । थापाले सङ्घीय सरकारले देशैभरि १६ लाख किशोरी एचपिभी खोप लगाउन सुरु गरेकाले उक्त अभियान सफल पार्न सबैलाई आह्वान गर्नुभयो । उहाँले प्रदेशभित्रका कम्तीमा एक सय शय्याका प्रादेशिक अस्पतालले नर्सिङ कलेज सञ्चालन गर्न पाउने नीति प्रदेश सरकारले पारित गरेको जानकारी दिनुभयो ।
सरकारले प्रदेशसभामा पेस गरेको स्वास्थ्य ऐन पारित भएसँगै नर्सिङ कलेज सञ्चालनसम्बन्धी नीति कार्यान्वयनमा आएको बताउँदै मन्त्री थापाले तीन सय शय्याको भक्तपुर अस्पतालले आगामी शैक्षिकसत्रदेखि नर्सिङ कलेज सञ्चालन गर्ने तयारी गरिरहेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “प्रदेशका सबै जिल्ला अस्पतालमा सेवा विस्तार गर्ने योजनाहनुसार सेवा बिहान ८ बजेदेखि ओपिडी सेवा सञ्चालन हुनेछ । योसँगै बिरामीलाई सहज हुने भएकाले सोहीअनुसार सेवा लिन आउन सबैलाई अनुरोध गर्दछु ।”
मन्त्री थापाका अनुसार प्रदेशद्वारा पारित स्वास्थ्य ऐनमा प्रदेशभित्रका निजी तथा सरकारीमध्ये ५० शय्यासम्मका अस्पतालले वर्षमा एकपटक र सोभन्दा माथिका अस्पतालले वर्षमा दुईपटक अनिवार्य रूपमा दुर्गम गाउँमा गएर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्नुपर्ने व्यवस्था गरेको छ । दुर्गमका नागरिकलाई सहज स्वास्थ्य सेवा दिन र रोग पहिचान गरी उपचार पहुँच बढाउन उक्त व्यवस्था गरिएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “प्रत्येक जिल्लाका अस्पतालहरूको अनुगमन मन्त्रालयले गरिरहेको छ । दुर्गम क्षेत्रका नागरिकको अवस्था बुझेर आवश्यक विशेषज्ञ जनशक्ति, प्राविधिक, उपकरणलगायत सामग्री पठाउँदै आएका छौँ । दुर्गममा स्वास्थ्य शिविर अभियान सुरु गरेर पालिकाहरूमा अभियान लिएर पुग्ने योजना बनाएका छौँ ।”
बागमतीका स्वास्थ्यमन्त्री थापाले प्रदेशभित्र राजमार्ग केन्द्रित गरेर दुईवटा ट्रमा सेन्टर निर्माण गरिने जानकारी दिनुभयो । उहाँका अनुसार राजमार्गमा सवारी दुर्घटनामा परेकालाई तत्काल उपचार गरी मृत्युबाट जोगाउने लक्ष्यका साथ अरनिको राजमार्ग खण्डअन्तर्गत जगातीस्थित सूर्यविनायक नगर अस्पताललाई ट्रमा सेन्टरका रूपमा विस्तार गर्ने योजना छ ।
प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम यसका लागि बजेट विनियोजन गर्नेगरी योजना सार्वजनिक गर्ने उहाँको भनाइ छ । राजमार्ग लक्षित गर्दै धादिङमा ट्रमा सेन्टर बनाउने तयारी भइरहेको मन्त्री थापाले बताउनुभयो ।