गण्डकी, १८ माघ : ठेट लय र शब्दमा बनेको मौलिक गीत ‘मयाली’ ले यतिबेला लोकसङ्गीत वृत्तमा चर्चा पाइरहेको छ । गायक वसन्त थापा र गायिका देवी घर्तीमगरको स्वर रहेको उक्त गीतलाई युट्युबमा पनि रूचाइएको छ । थापाको आफ्नै युट्युब च्यानलबाट मङ्गलबार सार्वजनिक गीतले हालसम्म तीन लाख बढी ‘भ्यूज’ पाएको छ । गीतको शब्द/सङ्गीत पनि थापाकै रहेको छ ।
गीतको म्युजिक भिडियोको छायाङ्कन बागलुङको ढोरपाटन उपत्यकामा गरिएको थियो । थापाको उक्त गीतले मौलिक सिर्जनाको मूल्यलाई थप स्थापित गरिदिएको लोकसङ्गीत क्षेत्रका अगुवाहरूले बताएका छन् । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान, नेपालका निवर्तमान अध्यक्ष एवं सर्जक रमेश बिजीले बजारमा लोकगीत–सङ्गीत बेच्नेहरू मात्र नभएर बचाउनेहरू पनि रहेको भन्दै थापाको प्रशंसा गर्नुभएको छ ।
फेसबुकमा उक्त गीतलाई साझा गर्दै बिजीले लेख्नुभएको छ, “पुर्खाको नासो मयाली भाकाको मौलिकतालाई शब्द, सङगीत र शिल्पले सिँगारेर यति सुन्दर र सरस तरिकाले प्रस्तुत गर्नुभएको यो गीत धेरैचोटि रसपान गरिसके पछि लाग्यो, बजारमा लोकगीत–सङ्गीत बेच्नेहरू मात्रै छैनन्, बचाउनेहरू पनि छन् ।लोकसङ्गीतमा रहेर यत्तिको धर्म निर्वाह गर्ने प्रयास मात्रै गर्न पाए भोलिको पिँढीले लोक दोहोरीगीतलाई सम्मानले पूजा गर्थे कि !” बिजीले झैँ अन्य सर्जक र लोकसङ्गीतप्रेमीहरूले उक्त गीतको मौलिकपनलाई लिएर सकारात्मक प्रतिक्रिया जनाएका छन् ।
प्रतिष्ठानका अध्यक्ष रीता थापामगरले उक्त गीतलाई लोकसङ्गीतको सर्वोत्तम उपहारका रूपमा टिपप्णी गर्नुभएको छ । “यस प्रकारका कृतिले हाम्रो लोकसङ्गीत सगर्व सर्वोच्च शिखरमा देख्न पाउँदा हर्षानुभूति हुन्छ । हाम्रो सम्पत्ति नै संस्कृति र प्रकृति त हो नि !” गायक तथा अभिनेता प्रकाश सपुतले सरल, सुन्दर र सुमधुर भन्दै उक्त गीतलाई आफनो फेसबुकमा साझा गर्नुभएको छ । लोकगायक विष्णु खत्रीले मौलिक गीतका लागि गायक थापा र गायिका घर्तीमगरप्रति साधुवाद व्यक्त गर्नुभएको छ ।
युट्युबमा ‘भ्यूज’ बढाउने नाममा लोकगीत–सङ्गीतको मर्ममाथि प्रहार भइरहेका बेला यस्ता मौलिक सिर्जनालाई दर्शक÷श्रोताले साथ दिनुपर्ने सर्जकहरूको भनाइ छ । बागलुङमा जन्मनुभएका थापा समाजका रीतिथिती, संस्कृति र भोगाइहरूलाई गीतमा उधिन्दै आउनुभएको छ । सङ्गीतकर्ममा दुई दशक बिताउनुभएका थापा पूर्णकालीन गायक तथा सङ्गीतकारका रूपमा परिचित हुनुहुन्छ । उहाँ नेपाली लोकसङ्गीतका उम्दा प्रतिभाका रूपमा दरिनुभएको छ ।
भिन्न पहिचानसहित थापा लोकसङ्गीतको सेवामा अनवरत सक्रिय हुनुहुन्छ । उहाँका ‘सालको पातको टपरी’, ‘बोकेझार’, ‘वारि घुम्टे, पारि गाजा’, ‘बागलुङ बजारमा बाघको सालिक’, ‘माछा मीठो असला दरम खोलाको’लगायत गीत चर्चित छन् । चलनचल्तीका लोकदोहोरीसँगै ठाडो भाका, सालैजो, रत्यौली, यानीमाया जस्ता कैयन मौलिक गीतमा थापाले सङ्गीत दिनुभएको छ । कतिमा शब्द रच्नुभएको छ भने कुनै आफैँले गाउनुभएको छ । चार वर्षअघि सार्वजनिक चलचित्र ‘छ माया छपक्कै’को ‘जुनको जुनेली’ गीतमा पनि उहाँको स्वर र सङ्गीत रहेको छ ।