प्रवासीलाई प्रविधि र पुँजी भित्र्याउन महासचिव पोखरेलको आग्रह

आर्थिक प्रवास मुख्य समाचार राजनीति

काठमाडौँ, १९ माघः नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले जापानमा रहेका नेपाली प्रवासीलाई मुलुकमा प्रविधि र पुँजी भित्र्याउन आग्रह गर्नुभएको छ ।

प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी जापानले आज जापानको नागोयामा आयोजना गरेको ‘देशको समसामयिक परिवेश तथा नेपालको आर्थिक विकासमा प्रवासी नेपालीहरूको लगानीका अवसर र चुनौतीहरू’ विषयक कार्यक्रम उहाँले नेपालमा गएर कृषि, पर्यटनलगायत क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो ।

महासचिव पोखरेलले राजनीतिलाई जीवन्त रूपमा अगाडि बढाउनका लागि पुरानो अनुभवी पुस्ता, बीचको पुस्ता र नयाँ पुस्ताको समीकरण हुन आवश्यक रहेको बताउनुभएको उहाँका स्वकीय सचिव सरोज रेग्मीले जानकारी दिनुभयो ।

पार्टीमा कार्यकर्ताको प्रवृत्ति पहिलोभन्दा धेरै सुधार आएको भन्दै पार्टीको काममा कार्यकर्ता नियमित र सहभागिता उल्लेखनीय रहेको महासचिव पोखरेलले बताउनुभयो । उहाँले पार्टीका कार्यकर्ताको सम्बन्ध जनतासँग जीवन्त हुन नसक्नु कमजोर पक्ष रहेको उल्लेख गर्नुभयो ।

महासचिव पोखरेलले अभियानकै क्रममा मुलुकको भविष्यको बाटो के हो भनेर जनतासँग संवाद गरेर अगाडि बढ्ने बताउनुभएको स्वकीय सचिव रेग्मीको भनाइ छ । अभियानकै क्रममा आफ्नो दलमा भएका कमी जनताबाट बुझेर त्यसलाई पूरा गर्ने र मुलुकलाई विकास र समृद्धिमा आत्मविश्वासका साथ अगाडि बढाउने उहाँले बताउनुभयो ।

महासचिव पोखरेलले हिजो जापानको हिरोसिमा पिस मेमोरियल पार्कको अवलोकन गर्नुभएको उहाँका स्वकीय सचिव रेग्मीले जानकारी दिनुभयो । प्रवासी नेपाली मञ्चले आयोजना गर्ने कार्यक्रममा सहभागी हुनका लागि महासचिव पोखरेलसहित एमालेका केन्द्रीय सदस्य सूर्य पाठक यही माघ १५ गते जापान जानुभएको थियो । उहाँ यही माघ २३ गते स्वदेश फर्कने कार्यक्रम छ ।

Facebook Comments Box