चितवन, २८ माघः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जनप्रतिनिधि र पार्टीबीच सुमधुर सम्बन्ध आवश्यक रहेको बताउनुभएको छ ।
नेपाली कांग्रेस खैरहनी नगर समितिले आज यहाँ आयोजना गरेको बृहत् कार्यकर्ता भेटघाट तथा वनभोज कार्यक्रममा उहाँले कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि र पार्टीबीच समन्वय स्थापित गरी परिणाममुखी काम गर्न आग्रह गर्नुभयो ।
नेपाली कांग्रेसमा तल्लो तहदेखि माथिल्लो तहसम्म सबैको हैसियत बराबर रहेको भन्दै महामन्त्री थापाले आफ्नो जिम्मेवारीअनुसार पार्टीहितमा काम गर्नुपर्नेमा जोड दिनुभयो । “चैतभित्र क्रियाशील सदस्य नवीकरण नभए १५ औँ महाधिवेशनमा भाग लिन पाइँदैन । चैत महिनाभित्र सबै भ्रातृ सङ्गठनको अधिवेशन गर्न पार्टीले निदेशन दिएको छ, सोहीअनुसार काममा लागौँ”, उहाँले भन्नुभयो, “अब आम निर्वाचनमा कोही कसैसँग गठबन्धन हुँदैन । जो गठबन्धनको पक्षमा हुन्छ त्यो पार्टी सदस्य हँुदैन । त्यसले अहिलेदेखि नै पार्टी सङ्गठन मजबुत बनाउन आवश्यक छ ।”
महामन्त्री थापाले वर्तमान सरकारले काम गर्न नसकेमा अर्को सरकारले सरकारबाट विकास र समृद्धिको यात्रा तय गर्न कठिन हुनेतर्फ सचेत हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “अहिलेको सरकारलाई जनताको अपेक्षाविपरीत काम गर्ने छुट छैन । दुई ठुला पार्टी मिलेर बनेको सरकार भएकाले यसलाई तलमाथि हुन दिनुहुँदैन ।”
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य टेकप्रसाद गुरुङ, कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, निवर्तमान सभापति जीतनारायण श्रेष्ठ, चितवनका सचिव ध्रुव पोख्रेल, नगर सभापति गुणराज श्रेष्ठलगायतले सम्बोधन गर्नुुभएको थियो ।
—
