साझा प्रकाशनको अध्यक्षमा गिरी

समाचार साहित्य

पाटन (ललितपुर), १० फागुनः साझा प्रकाशन प्रकाशनका २५औँ साधारणसभाबाट सञ्चालक समितिको अध्यक्षमा शेखर गिरी सर्वसम्मत चयन हुनुभएको छ । साधारणसभाले अध्यक्ष र एक महिलासहित तीन सञ्चालक समिति सदस्य, लेखा सुपरिवेक्षण समितिमा सर्वसम्मत नेतृत्व चयन गरेको हो ।

प्रकाशनको सञ्चालकमा महिलातर्फ जयन्ता पोखरेल, खुलातर्फ प्रा डा ध्रुव घिमिरे र मनोहर लामिछाने, लेखा सुपरिवेक्षण समिति संयोजकमा वशिष्ठकुमार अधिकारी, सदस्यमा राजकुमार थापा र बसुधा पाण्डे बस्नेत निर्विरोध निर्वाचित भएका निर्वाचन समितिका सदस्यसचिव भेषराज घिमिरेले जानकारी दिनुभयो ।

यसअघि साधारणसभाको उद्घाटन सत्रमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री वलराम अधिकारीले े साझा प्रकाशन प्राज्ञिक थलो भएकाले यहाँ देखिएका समस्या समाधान गर्न आफू प्रयासरत रहेको बताउनुभयो । उहाँले मन्त्रालयको तर्फबाट प्रकाशनलाई आवश्यक सहयोग रहनेसमेत बताउनुभयो । विशिष्ठ अतिथि डा तुलसीप्रसाद भट्टराईले साझा प्रकाशनको योगदानबारे चर्चा गर्दे साझालाई जोगाउन स्रष्टाहरू अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

प्रमुख निर्वाचन आयुक्त दिनेशचन्द्र थपलियाले संस्थागत रूपमा निर्णय गरेर साझाका किताब सहजै बिक्री हुने व्यवस्था गरिनुपर्नेमा जोड दिनुभएको थियो । नवनिर्वाचित नेतृत्वलाई साझा प्रकाशनलाई चलायमान बनाउन सक्ने क्षमता विकास गर्न सुझाव दिँदै उहाँले सम्पर्क मन्त्रालयका सबै कागजात छाप्नेगरी विकास गर्न आग्रह गर्नुभयो र “म पनि यो संस्थाको सदस्य हुँ, साझाप्रति मेरो हार्दिकता छ, सरकारका सबै पुस्तकालयमा साझा प्रकाशनका किताब हुनुपर्छ”, थपलियाले भन्नुभयो ।

उहाँले आमाबाबु, साहित्य र किताब कहिल्यै भूतपूर्व हुँदैनन् भन्दै साहित्यको विकास र संस्कृतिको संरक्षणमा साझाले उत्कृष्ट काम गर्न सक्नुपर्ने धारणा राख्नुभयो । प्रमुख निर्वाचन आयुक्त दिनेशचन्द्र थपलियाले साझा प्रकाशनको व्यवस्थापनका लागि सरकारसँग गम्भीरतापूर्वक कुरा गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । “अब कार्यसमितिले व्यवस्थापकीय योजना बनाउला, अरू चार पाँचवटा संस्थाका छपाइ आउँदा पनि साझाले धेरै उपलब्धि हासिल गर्न सक्छ । आजको उत्साह चारपाँच वर्षसम्म रहोस्, समितिको बैठकमा विभिन्न मन्त्रालयका पदाधिकारीहरू सदस्य हुने तर केही समयमै हट्ने व्यवस्था पनि हट्नुपर्छ, सरकारले दिने पदाधिकारी पनि चार वर्षसम्म एउटै हुने व्यवस्था हुनुपर्छ,” उहाँले भन्नुभयो ।

Facebook Comments Box