प्रेस स्वतन्त्रतालाई असर गर्ने कार्य सरकारले गर्दैन : मन्त्री गुरुङ

मुख्य समाचार राजनीति समाचार

काठमाडौँ, ११ फागुन : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रेस स्वतन्त्रतालाई असर गर्ने कुनै पनि कार्य सरकारले नगर्ने बताउनुभएको छ । काठमाडौँमा आज मध्याह्न राष्ट्रिय दैनिकको २३औँ वर्ष प्रवेशका अवसरमा आयोजित शुभकामना तथा सम्मान कार्यक्रममा उहाँले देशमा लोकतन्त्र ल्याउन दलहरूको महत्वपूर्ण भूमिका भएकाले त्यसलाई असर गर्ने कुनै पनि कार्य सरकारबाट नहुनेमा विश्वस्त रहन आग्रह गर्नुभयो ।

मन्त्री गुरुङले भन्नुभयो, “नेपालमा जातीय र सामाजिक सद्भाव अन्य देशका लागि उदाहरण हुन् । हाम्रो धर्म र सांस्कृतिक विविधता सुन्दर पक्ष हो । तर, अहिले सामाजिक सञ्जालमार्फत त्यसमा प्रहार भएको गुनासो सुनिनाका साथै प्रस्ट देख्न पाइन्छ, त्यसलाई नियमन गर्न सरकारले सामाजिक सञ्जाल विधेयक ल्याएको हो । त्यसले प्रेस स्वतन्त्रतालाई कुनै असर गर्दैन, यदि गर्ने रहेछ भने त्यसलाई हामी संशोधन र परिमार्जन गर्न तयार छौँ ।”

सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकले डिजिटल प्लेटफर्ममा बढिरहेको विकृतिलाई रोक्ने र नियमन गर्ने मन्त्री गुरुङको भनाइ थियो । उहाँले स्वतन्त्रताभन्दा ठूलो देश भएकाले त्यसको सुन्दरता कायम गर्न र धार्मिक सहिष्णुतामा आँच आउन नदिन विधेयक आवश्यक रहेको बताउनुभयो ।

“धार्मिक सहिष्णुता हाम्रो देशको अनुपम उदाहरण हो । हामीले सामाजिक सञ्जाललाई उचित नियमन गर्न सकेनौँ भने यसले हाम्रो धर्म, संस्कृतिसँगै एकतामा पनि असर पु¥याउन सक्छ । त्यसकारण हामीले लोकतान्त्रिक प्रक्रियाअनुसार विधेयक ल्याउँदैछौँ”, मन्त्री गुरुङले भन्नुभयो ।

Facebook Comments Box