सुर्खेत, २३ फागुनः प्रधानमन्त्री एवं मध्यपश्चिम विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीबाट उक्त विश्वविद्यालयको तेस्रो दिक्षान्त समारोहका अवसरमा आज विभिन्न तह र सङ्कायका तीन हजार आठ सय ४१ विद्यार्थी दीक्षित भएका छन् ।
वीरेन्द्रनगरस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आयोजित समारोहमा ती विद्यार्थी दीक्षित भएका हुन् । समारोहमा विज्ञान तथा प्रविधि, व्यवस्थापन, इञ्जिनियरिङ, कानुन, शिक्षाशास्त्र, मानविकी र सामााजिकशास्त्र गरी सबै सङ्कायबाट स्नातक तहका दुई हजार एक सय ८९, स्नातकोत्तर तहका विभिन्न कार्यक्रममा शैक्षिक सफलता हासिल गरेका एक हजार छ सय ६३ र व्यवस्थापन संकायको दर्शनाचार्य पूरा गरेका १९ विद्यार्थी दीक्षित भएका हुन् ।
कार्यक्रममा भारतको जवाहरलाल नेहरु विश्वविद्यालयका अग्रज प्राध्यापक प्रा डा महेन्द्र पि लामा प्रमुख अतिथि रहनुभएको थियो ।
मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा ध्रुवकुमार गौतमले नेपाल सरकारको सहयोग, राष्ट्रिय तथा अन्तरराष्ट्रिय विश्वविद्यालय एवं सङ्घसंस्थाको सहकार्यमा थप नयाँ शैक्षिक कार्यक्रम सञ्चालन गरिने जनाउनुभयो । प्रधानमन्त्री ओलीले आजै कर्णाली प्रदेशसभामा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।