काठमाडौं– काम नपाएपछि टर्कीबाट फर्केका व्यक्तिले ९७ लाख ९० हजार नौ सय ५७ रुपैयाँ क्षतिपूर्ति पाउने भएका छन् । टर्कीको आइजिए कम्पनीमा पुगेका एक सय ७० नेपालीले काम नपाएपछि क्षतिपूर्ति माग गरेका थिए ।
सम्झौता अनुसार कम्पनीले काम दिन नसकेपछि त्यो रकम पठाएको वैदेशिक रोजगार विभागले जनाएको छ । पीडितले उजुरी दिएपछि विभागले पाकिस्तानस्थित नेपाली राजदूतावासमार्फत क्षतिपूर्तिका लागि पहल गरेको थियो ।
सोही पहल अनुसार कम्पनीले प्रतिव्यक्ति ५६ हजार आठ सय ८५ रुपैयाँका दरले एकमुुष्ठ ९७ लाख ९० हजार नौ सय ८६ रुपैयाँ पठाएको विभागले जनाएको छ ।
उनीहरु विभिन्न म्यानपावरमार्फत गत पुसमा टर्की पुगेका थिए । प्राप्त क्षतिपूर्ति रकम असोज ६ गतेदेखि १२ गतेसम्म वितरण गरिने विभागले जनाएको छ । विभागले सम्बन्धित व्यक्तिलाई आवश्यक कागजातसहित क्षतिपूर्ति रकम लिन आउन आग्रह गरेको छ । सम्बन्धित व्यक्ति टर्कीबाट फर्केर फेरि विदेश गइसकेको भए नजिकको हकवालालाई बसोबास गरेको वडा कार्यालयको सिफारिस र फर्किनेको राहदानीको प्रतिलिपि लिएर रकम लिन आउन भनेको छ ।
काम दिन नसकेर कामदार फिर्ता गर्ने निकै थोरै कम्पनीले मात्र क्षतिपूर्ति दिने गर्छन् । वैदेशिक रोजगारीको क्रममा ठगिनेको संख्या पनि निकै ठूलो छ ।
गत आर्थिक वर्ष ०७५/७६ मा रोजगारीको क्रममा ठगीमा परेको भन्दै दुई हजारभन्दा बढी उजुरी विभागमा दर्ता भएका छन् । ती उजुरीमा ८५ करोड रुपैयाँ माग गरिएको छ । त्यस्तै, साउन र भदौ दुई महिनामा विभागमा चार उजुरी दर्ता गरिएका छन् । ती उजुरीमा आठ करोड रुपैयाँ ठगी भएको दाबी गरिएको छ ।
Facebook Comments Box