मोरङ (पथरी), २४ फागुन : खानेपानीमन्त्री प्रदीप यादवले ‘स्वच्छ पानी, स्वस्थ जीवन’ लाई साकार पार्ने गरी काम गर्नुपर्ने बताउनुभएको छ । उहाँले ‘एक घर, एक धारा’ अभियानमार्फत सबै नागरिकका घरआँगनमा शुद्ध पेयजल उपलव्ध गराउन सरकार क्रियाशील रहेको बताउनुभयो ।
मोरङको पथरी शनिश्चरे नगरपालिकास्थित पथरी खानेपानी आयोजनाको आज शिलान्यास गर्दै मन्त्री यादवले सुरक्षित, गुणस्तरीय र दिगो खानेपानी सेवा प्रवाह गर्न खानेपानी मन्त्रालय प्रतिबद्ध रहेको बताउँदै त्यसनिम्ति सम्बद्ध सबै पक्षको सहयोग अपरिहार्य भएको बताउनुभयो ।
सरकारले खानेपानी तथा ढल व्यवस्थापन क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको तथा नीति निर्माण, स्रोत परिचालन र पूर्वाधार विस्तारमा निरन्तर लागिपरेको जानकारी दिनुभएको मन्त्री यादवको निजी सचिवालयले जनाएको छ ।
खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक रामकुमार श्रेष्ठले पथरी शनिश्चरे खानेपानी योजना रु ३५ करोडको लागतमा निर्माण प्रारम्भ भएको बताउनुभयो ।