लुम्बिनी, ३ चैत : नेपाल प्रहरीलाई मनोविमर्श सेवामा दक्ष बनाउन तालिम सञ्चालन गरिएको छ ।
समाजमा बढ्दो लैङ्गिक हिंसाका घटना र त्यसबाट पीडित पक्षलाई मनोसामाजिक मनोविमर्श सेवा प्रदान गर्ने दक्ष प्रहरी जनशक्ति तयार गर्न उनीहरुलाइ तालिम प्रदान गरिएको हो ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बढी हिंसा भएका प्रदेश मध्ये छनौट गरी तालिम सञ्चालन गरेको हो । लुम्बिनी प्रदेशका विभिन्न ३० वटा महिला बालबालिका तथा ज्येष्ठ नागरिक प्रहरी एकाइमा कार्यरत प्रहरी अधिकृत तथा कर्मचारीका लागि १६ दिने तालिम आजदेखि बुटवलमा सुरु गरिएको छ ।
उनीहरुलाई पीडितलाई कसरी परामर्श दिने र परामर्शका माध्यमबाट पीडितलाई समाजमा कसरी पुनःस्थापन गराउने भन्ने विषयमा विज्ञद्वारा तालिम दिइने मन्त्रालयले जनाएको छ । लुम्बिनी प्रदेश सरकारका सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले सबै प्रकारका हिंसा न्यूनीकरण र सामाजिक अपराधको न्यूनीकरणमा यस्ता तालिम उपयुक्त हुने विश्वास व्यक्त गर्नुभयो ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव केशवप्रसाद उपाध्यायले हिंसामा परेका महिला र बालबालिकालाई सेवा दिने गरी हिंसा प्रभावित मुख्य तीन प्रदेशमा तालिम सुरु गरिएको बताउनुभयो । उहाँले हाल यस्ता परामर्शका लागि १५ वटा सेवा केन्द्र बनाउने तयारी रहेको र सेवा केन्द्रमा काम गर्ने प्रहरी कर्मचारीको क्षमता विकास गर्ने लक्ष्यसहित आठ सय प्रहरीलाई क्षमता विकास तालिम दिइने बताउनुभयो ।
पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र बुटवलका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) माधव श्रेष्ठले हिंसा पीडितको पहिलो पीडा राख्ने केन्द्रमा रहेका प्रहरीलाई यसको आधारभूत विषयमा दक्ष बनाउन र न्यायका लागि उनीहरुलाई बाटो देखाउन सक्ने जनशक्ति बनाउन तालिम आयोजना गरेको बताउनुभयो ।

