मोरङ, २१ चैतः नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले वर्तमान संविधानभित्र रहेर समस्याको समाधान खोज्नुपर्नेमा जोड दिनुभएको छ । मोरङको बूढीगङ्गा गाउँपालिका–१ मा निर्माण गर्न लागिएको ‘बूढगङ्गा पार्क’को आज शिलान्यास गर्नुहुँदै उहाँले संविधानभित्र रहेर शान्तिपूर्ण आन्दोलन गर्ने अधिकार सबैलाई रहेको धारणा राख्नुभयो ।
उहाँले समस्याको समाधानका नाममा गरिने कुनै पनि प्रकारको हिंसा आतङ्क, तोडफोड, आगजनी स्वीकार्य नहुने विचार राख्नुभयो । कांग्रेस केन्द्रीय सदस्य डा कोइरालाले काठमाडौँमा यही चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको घटनाका निष्पक्ष छानबिन गर्न समिति गठन गर्नुपर्ने बताउनुभयो ।
उहाँले लोकतान्त्रिक सङ्घीय गणतन्त्रलाई बलियो र दिगो बनाउन राजनीतिक दलहरुभित्र सुधार हुनु आवश्यक रहेको धारणा राख्नुभयो । नेता कोइरालाले भन्नुभयो, “दुई ठूला दल कांग्रेस र नेकपा (एमाले) मिलेर बनेको वर्तमान सरकारले संविधान संशोधन, आर्थिक विकास, सुशासन तथा रोजगारी सिर्जना गर्नतर्फ संवेदनशील हुनु जरुरी छ ।”
बूढीगङ्गा गाउँपालिकाका अध्यक्ष जितनारायण थापा मगरले यसक्षेत्रलाई पर्यटकीयस्थलका रुपमा विकास गर्न पार्क निर्माण गर्न लागिएको बताउनुभयो । सिङ्गिया खोलाको किनारका चार विघा क्षेत्रफलमा रु २१ करोड पार्क निर्माण गर्ने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष मगरले जानकारी दिनुभयो ।
