काठमाडौँ, २९ चैतः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले समाजवादको सफल कार्यान्वयन गर्न शिक्षालाई सीप र श्रमसँग जोड्नुपर्ने बताउनुभएको छ ।
सुशासन, रोजगारी र समाजवादको तयारीका सन्दर्भमा शिक्षाविद्सँग पार्टीद्वारा आज आयोजित अन्तरक्रियामा महासचिव भुसालले मुलुकमा प्रत्येक नागरिकलाई असल र व्यावहारिक शिक्षा उपलब्ध गराएर उनीहरूलाई समाजप्रति उत्तरदायी बनाउनुपर्ने बताउनुभयो ।
महासचिव भुसालले समाजवादी यात्रालाई सफल बनाउन सबै नागरिकलाई समान व्यवहार, एकअर्काप्रतिको आदर, विश्वास र सहयोगको अपेक्षा गर्नुभयो । शिक्षाविद् विद्यानाथ कोइरालाले शिक्षा क्षेत्रलाई गुणस्तरीय बनाउन राजनीतिक दलहरूबाट प्रतिबद्धता आवश्यक रहेको सुझाव दिनुभयो ।
कार्यक्रममा सहभागीहरुले विद्यमान पाठ्यक्रम र पाठ्यपुस्तक परिवर्तन गरी भूगोलको वस्तुस्थिति र समाजको बनोटलाई केन्द्रबिन्दुमा राखेर पाठ्यक्रम बनाउन सुझाव दिनुभयो ।

