पाल्पामा जिप दुर्घटना हुँदा एकको मृत्यु, चार घाइते

आर्थिक समाचार

तानसेन (पाल्पा), ७ वैशाख : यहाँको बगनासकाली गाउँपालिका–४ मलेङस्थित बेलडाँडामा आज साँझ जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

लु १ ज १७२४ नम्बरको जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार स्याङ्जाको कालीगण्डकी गाउँपालिका –१ की १८ वर्षीया एलिसा सारुको दुर्घटनामा परी घटनास्थलमै मृत्यु भएको छ ।

गाडीमा नौ जना सवार थिए । घाइते मध्ये ३६ वर्षीया नीता दर्लामीको अवस्था गम्भीर रहेको प्रनाउ मल्लले बताउनुभयो । घाइते अन्यको परिचय खुल्न सकेको छैन । घाइते चारै जनाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । साँघुरो घुम्तीका कारण जिप दुर्घटना भएको अनुमान गरिएको छ । दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।