काठमाडौँ, ११ वैशाख : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले समृद्ध मुलुक निर्माणमा इन्जिनियरको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।
नेपाली कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स एसोसिएसन (सिडेन)को आयोजनामा ललितपुरमा आयोजना गरेको भविष्य निर्माणः नवप्रवर्तन लचिलोपन र दिगो विकाससम्बन्धी दोस्रो राष्ट्रिय सम्मेलनमा उहाँले मुलुकको विकासमा इन्जिनियरको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो ।
“विकास निर्माणमार्फत समृद्ध मुलुक निर्माण गर्न सरकार लागेको छ, यसमा इन्जिनियरको महत्त्वपूर्ण भूमिका रहन्छ”, उहाँले भन्नुभयो । मन्त्री खड्काले गुणस्तरीय पूर्वाधार निर्माणमा सबैले ध्यान दिनुपर्ने बताउनुभयो ।
उहाँले मुलुकको आर्थिक विकासका लागि बाधक भएका कानुन संशोधन गर्दै अगाडि बढ्न सरकार लागेको बताउनुभयो । ऊर्जामन्त्री खड्काले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य सरकारले लिएको भन्दै उक्त लक्ष्य पूरा गर्दा थुप्रै इन्जिनियरले रोजगार पाउने उल्लेख गर्नुभयो ।
बुढीगण्डकी आयोजनालाई मात्र अगाडि बढाउन सके पनि १७ हजार बढीले रोजगारी पाउने उहाँको भनाइ थियो । उहाँले मुलुकको विकासका लागि इन्जिनियरको सहयोग र सल्लाह अझ बढी आवश्यक रहेको बताउनुभयो । इन्जिनियरबिना देश विकास हुन नसक्ने मन्त्री खड्काको भनाइ थियो । ऊर्जामन्त्री खड्काले निजी क्षेत्रलाई साथमा लिएर अगाडि बढ्न चाहेको बताउनुभयो ।
