‘लागुऔषध दुर्व्यसनी रोक्न सामूहिक प्रतिबद्धता आवश्यक’

प्रशासन समाचार

सिरहा, १४ वैशाख : लागुऔषधको प्रयोग र कारोबारले भयावह रुप लिँदै गएकामा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । उनीहरुले यसको रोकथाम तथा न्यूनीकरणका लागि सबैको सामूहिक प्रतिबद्धता र पहलकदमीको आवश्यकता औँल्याएका छन् ।

आज यहाँको मिर्चैयामा जिल्ला प्रशासन कार्यालयद्वारा आयोजित लागुऔषध नियन्त्रणसम्बन्धी अन्तरक्रियाका सहभागीले मधेसका गाउँगाउँमा लागुऔषध प्रयोगकर्ता र कारोबार बढेको बताए । मिर्चैया नगरपालिकाका नगरप्रमुख श्रवणकुमार यादवले हाल लागुऔषध समाज र देशका लागि प्रमुख चिन्ताको विषय बनेको बताउनुभयो । उहाँले यसको रोकथाम र न्यूनीकरणका लागि सबैको सामूहिक प्रतिबद्धता र पहलकदमीको आवश्यकतामा जोड दिनुभयो ।

“लागुऔषधले समाजलाई झन्झन् अक्रान्त पार्दै लागेको छ । नियन्त्रण बाहिर पुगिसकेको छ । स्थिति हेर्दा भयावह देखिन्छ”, नगरप्रमुख यादवले भन्नुभयो, “प्रहरीले मात्र यसलाई रोकथाम गर्न सक्दैन । त्यसैले यसको रोकथाम र न्यूनीकरणका लागि सरोकारवाला सबैको सामूहिक प्रतिबद्धता र पहलकदमीको आवश्यकता छ ।”

त्यसैगरी प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले लागुऔषध दुर्व्यसनको बढ्दो समस्याले राष्ट्रिय सुरक्षादेखि सामाजिक संरचनासम्म गम्भीर असर पारिरहेको बताउनुभयो । यसको नियन्त्रणका लागि सामूहिक प्रयास वडास्तरसम्म पु-याउन सक्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

जिल्लामा लागुपदार्थ दुव्र्यसन नियन्त्रणसम्बन्धी सचेतना जगाउन यही वैशाख २६ गतेसम्म विद्यालय र समुदाय केन्द्रित अभियान चलाइने प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिनुभयो । त्यसका लागि एक स्थानीय तहमा कम्तीमा पाँच वटा विद्यालयमा सचेतना कार्यक्रम गरिने, नेपाल–भारत खुला सीमामा चेकजाँचलाई कडाइ गरिने उहाँले बताउनुभयो ।

लागुऔषध दुव्र्यसनले परिवार विघटन, युवा शक्ति नष्ट र आपराधिक गतिविधि वृद्धि भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अनन्तराम शर्माको भनाइ छ । उहाँले समाजका सम्पूर्ण वर्ग र क्षेत्रका मानिसबीच कानुनी प्रावधानमा साझा बुझाइ बनाइ समाधानका लागि सामूहिक जिम्मेवारी बोध हुनुपर्नेमा जोड दिनुभयो ।