तनहुँ, १८ वैशाख : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कानुन मजदुरमैत्री र समाजवादोन्मुख हुनुपर्ने बताउनुभएको छ ।
नेपाल ट्रेड युनियन कांग्रेस तनहुँले १३६औँ अन्तरराष्ट्रिय मजदुर दिवसका अवसरमा आज दमौलीमा आयोजित विचारगोष्ठीमा उहाँले सो कुरा बताउनुभएको हो । मजदुरको अझै पनि न्यूनतम पारिश्रमिक तोकिन नसकिएको अवस्था रहेको मन्त्री पौडेलले जोड दिनुभयो । “मजदुरमैत्री कानुन र संविधान राजनीतिक स्थिति निर्माण गर्न श्रमिक आन्दोलनको उदय भएको हो”, उहाँले भन्नुभयो ।
मजदुरको दुर्घटना भयो भने बिमा छैन, उपचार कसले गरिदिने हो । उहाँले भन्नुभयो, “४५–५० वर्षको सक्रिय जीवन यसरी नै बित्छ, त्यसपछिको विकल्प के हो एकिन गरिनुपर्छ ।” पछिल्लो समयमा मजदुर आन्दोलन राजनीतिकरण र अराजकता बढी भएको मन्त्री पौडेलको उहाँको ठम्याइ छ ।
मजदुर सङ्गठनभित्रका केही सीमित व्यक्तिले मजदुरका नाउँमा नेतृत्व गर्ने र उनीहरूका कारण संस्था नै बर्बाद भए पनि बर्बादीको दिशातर्फ जानेगरी विद्रोह गर्ने परिस्थिति पनि देखिएको छ । उहाँले भन्नुभयो, “जुन संस्थामा काम गरिन्छ, त्यो संस्था नै गुमेपछि रोजगारी गुम्न सक्छ ।” उहाँले भन्नुभयो, “संस्थाका पक्षमा रहेर भएर आफ्नो अधिकार खोजिने कार्यलाई मजदुर आन्दोलनले अवलम्बन गर्न सकिरहेको छैन ।”
त्यसैगरी मन्त्री पौडेलले शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा आज हेमोडायलासिस युनिटको उद्घाटनसमेत गर्नुभएको थियो ।
—
