बोम्जन गुरुङ
१२ मे २०२५, कोरिया
कोरिया स्थित नेपालीहरुको साझा संस्था मिर्याङ्ग नेपाली समाज दक्षिण कोरियाको नवौं अधिवेशन सम्पन्न भएको छ । मिर्याङ्ग स्थित (경상남도 밀양시 시청동길 18-3)को हलमा आइतबार सम्पन्न सो अधिवेशनबाट असीम पुन मगर अध्यक्ष रहने गरि १७ सदस्यीय संरचनाको नवौं कार्यसमिति गठन भएको हो ।
समाजका अध्यक्ष साजन थापाको सभाध्यक्ष र सोही समाजका संरक्षक सागर पोख्रेलको प्रमुख आतिथ्यतामा पहिलो चरणको उद्घाटन सत्र सम्पन्न भएको थियो । समाजका उपाध्यक्ष असीम पुन मगरको स्वागत मन्तव्यसँगै शुरु भएको उक्त कार्यक्रममा सहसचिव प्रेम क्षेत्रीले प्रगति विवरण र कोषाध्यक्ष अञ्जु प्राख्रिनले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि सागर पोख्रेलले वर्षेनी “छेजुदो भ्रमण” को आकर्षक प्याकेज आयोजना गर्दै कोरियामा रहेका नेपाली समुदायमा एक सक्षम संस्थाको रुपमा परिचित रहँदै नेपालीहरुविच एक आपसको सद्भाव र आत्मीयता बलियो बनाउन मद्धत मात्र नभई सामाजिक कार्यमा पनि उत्तिकै अग्रसर रहिआएको बताए । मिर्याङ्ग नेपाली समाजको हरेक गतिविधिमा अमूल्य सहयोग र सहकार्य गर्दै आउनुभएका सम्पूर्ण महानुभाव र संघसंस्थालाई समाजका अध्यक्ष साजन थापाले धन्यवाद व्यक्त गरेका थिए ।
ख्यङ्साङ्नाम्दो, किम्हे/बुसान क्षेत्र आसपासका अन्य संघसंस्थाका प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति रहेको सो समारोहमा अन्य वक्ताहरुले समाजको हरेक गतिविधिको प्रशंसा गर्दै अधिवेशन सफलताको शुभकामना सहित आ-आफ्नो धारणा राखेका थिए ।दोश्रो चरणको बन्द सत्र अन्तर्गत मिलान तामाङको संयोजकत्वमा सागर पोख्रेल, सुजाता बस्नेत र साजन थाप सदस्यीय रहेको निर्वाचन मण्डलले विधिवत् रुपमा गठन गरेको कार्यसमिति अध्यक्षमा असीम पुन मगर, वरिष्ठ उपाध्यक्ष प्रिती लामा, उपाध्यक्षहरुमा दीपक खड्का र महिला उपाध्यक्ष एजेलिया थेबे चयन भएका छन् भने सचिवमा प्रेम क्षेत्री, सहसचिवहरुमा दिल कुमार मगर (विदेश) साथै कोषाध्यक्षमा पुकेश भुजेल, सहकोषाध्यक्ष प्रकाश जोशी चयन भएका छन् । सदस्यहरुमा टोप बहादुर शाही, भरत श्रेष्ठ, प्रमिला राई, दीपा थुलुङ, राजकुमार अधिकारी, अभय चन्द, रोहित भण्डारी, सन्तोष तामाङ र समीर खड्का नवौं कार्यसमितिमा आबद्ध भएका हुन् । उद्घाटन सत्रमा समाजका सचिव विक्रम गरञ्जा मगर र बन्द सत्रमा समाजका प्रमुख सल्लाहकार मिलन तामाङले कार्यक्रम सञ्चालन गरेका थिए ।
समाजको नवौं अधिवेशन सफल पार्न उपस्थित जनाउनुहुने विभिन्न संघसंस्थाका आमन्त्रित अतिथिहरु, किम्हे, बुसान, मिर्याङ्ग आसपासका जातीय, क्षेत्रीय, राजनैतिक, शैक्षिक, सामाजिक लगायत संस्था सम्बद्ध समस्त अग्रज व्यक्तित्व, सदस्य र शुभचिन्तकहरुमा मिर्याङ्ग नेपाली समाजले हार्दिक धन्यवाद र आभार व्यक्त गरेको छ ।
