नारायण खतिवडाको दुःख सुनाएर के काम सार्वजनिक

मनोरन्जन समाचार

काठमाडौं २५ जेठ। गीतकार नारायण खतिवडाको शब्द सिर्जनामा तयार भएको गीत ूदुःख सुनाएर के कामरुू सार्वजनिक गरिएको छ। डिजिटल प्लेटफर्ममार्फत सार्वजनिक गरिएको उक्त गीतमा दीपक शर्माको संगीत र स्वरूपराज आचार्यको स्वर रहेको छ। गीतलाई नमस्ते नेपाल डिजिटल स्टुडियो बाट युट्युबमा तथा विभिन्न अन्तर्राष्ट्रिय अडियो र भिडियो प्लेटफर्महरूमा अपलोड गरिएको छ।
मानिसको जीवनमा सुखका मात्र होइन, दुःखका पलहरू पनि आउँछन्। त्यस्तो बेला धेरैजसो मानिसहरू सम्हालिन सक्दैनन् र आफ्नो दुःख, पीडा, दर्द, भोक, रोग, शोक, गरिबी र कठिनाइ अरूलाई सुनाउँछन्। सुन्ने त धेरै भेटिन्छन्, तर साथ दिने भने थोरै मात्र हुन्छन्। आज साथ दिएको मान्छेले भोलि गएर त्यही कुरा हाँसो, मजाक र खिल्लीको विषय बनाउन सक्छ। हरेक व्यक्तिका आफ्नै बाध्यता हुन्छन्। मानिसले आफ्नै दुःख ठूलो ठान्छ, अरूको दुःखमा साथ दिने मानिस निकै कम हुन्छन्।
गीतमा मानिसको सोच र मनोवृत्तिको पनि चित्रण गरिएको छ। कोही सकारात्मक सोच राख्छन्, कोही नकारात्मक। सकारात्मक व्यक्तिहरूबाट सकारात्मक ऊर्जा प्राप्त हुन्छ, भने नकारात्मक सोच भएका व्यक्तिहरूले अरूको कुरा काट्ने प्रवृत्ति देखाउँछन्। त्यस्ता मानिसहरूबाट नकारात्मक ऊर्जा सर्छ, त्यसैले त्यस्ता मानिसहरूबाट टाढा बस्नु नै उपयुक्त हुन्छ भन्ने सन्देश गीतमा पाइन्छ। आज जसको सामु अरूको कुरा काटिन्छ, भोलि उसैले तपाईंको पनि कुरा काट्न सक्छ। त्यसैले, आत्मिक शान्तिका लागि यस्तो प्रवृत्तिबाट दूरी कायम गर्नु नै उचित ठहरिन्छ।
चर्चित संगीतकार दीपक शर्माको संगीत र सुमधुर स्वरका धनी स्वरूपराज आचार्यको स्वरले यस गीतलाई झनै मार्मिक र हृदयस्पर्शी बनाएको छ।