NRNA दक्षिण कोरिया विपिन कुमार गुरुङ नेतृत्वका प्रवक्ता दिपेन्द्रले दिए चेतावनी

कोरियाअपडेट प्रवास समाचार

सउल/दक्षिण कोरिया ।

गैर-आवासीय नेपाली संघ (NRNA) को दक्षिण कोरिया को हालै सम्पन्न एकता महाधिवेशन सम्पन्न भैसक्दा पनि गलत र समानान्तर प्रवृत्ति प्रति संघले एक विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण गरेको छ । NRNA दक्षिण कोरिया विपिन कुमार गुरुङ नेतृत्वका प्रवक्ता दिपेन्द्र रोकायाले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै गैरकानुनी रुपमा अर्को महाधिवेशनको तयारी भइरहेकोप्रति गम्भीर आपत्ति जनाएका छन् ।

विज्ञप्तिअनुसार, एनआरएनए केन्द्रीय एकता प्रक्रियाको सन्दर्भमा नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार डा. शेष घलेको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरिएको थियो । समितिको निर्देशनअनुसार दक्षिण कोरियामा व्यापक परामर्श र सहकार्यमा आधारित एकता महाधिवेशन सम्पन्न भएको हो । उक्त महाधिवेशनमा नेपाल सरकारका पर्यटन, नागरिक तथा उड्डयन राज्य मन्त्री अरुण कुमार चौधरी तथा डा. घले स्वयं प्रमुख र विशिष्ट अतिथि भएर सहभागी भएका थिए ।

महाधिवेशनबाट श्री विपिन कुमार गुरुङको नेतृत्वमा नयाँ समिति सर्वसम्मतिमा निर्वाचित भई अहिले नियमित कार्य सम्पादनमा क्रियाशील रहेको जानकारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तर हाल केही व्यक्तिहरूले अदालतको परमादेश तथा संघको विधानविपरीत “महाधिवेशन” को नाममा पैसा उठाउने, अत्यधिक शुल्क लिएर सदस्यता वितरण गर्ने, रेमिट कम्पनीहरूसँग मिलेर कमिशनको खेलमा लागेको भन्दै प्रवक्ताले गम्भीर आपत्ति जनाएका छन् ।

“संघको पवित्र उद्देश्यलाई बदनाम पार्ने यस्ता अनियमित, अराजक र गैरकानुनी गतिविधिप्रति सम्पूर्ण कोरियावासी नेपाली समुदायलाई सतर्क रहन अनुरोध गर्दछौं,” प्रवक्ता रोकायाले भनेका छन् । साथै उनले यस्ता कार्य तत्काल बन्द गर्न आग्रह गर्दै, कानुनी कारबाहीको चेतावनी समेत दिएका छन् ।

गैर-आवासीय नेपाली संघ परराष्ट्र मन्त्रालयमार्फत निर्देशित एक सामाजिक संस्था भएको र प्रवासमा नेपाली समुदायको हितमा कार्यरत रहेको जनाउँदै, संघको नाममा हुने कुनै पनि जालझेल र व्यक्तिगत स्वार्थमा आधारित गतिविधिप्रति संघ गम्भीर रहेको विज्ञप्तिमा उल्लेख छ ।