‘प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार’ दुवाल र चन्दलाई प्रदान

समाचार साहित्य

काठमाडौँ, ३२ असार : नेपाल प्रज्ञा–प्रतिष्ठान काठमाडौँले गत वर्ष स्थापना गरी प्रदान गर्न थालेको ‘प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार’बाट दुई अग्रज साहित्यिक पत्रकार पुरस्कृत हुनुभएको छ ।

प्रतिष्ठानमा मङ्गलबार आयोजित एक समारोहकाबीच प्रतिष्ठानका कुलपति भुपाल राईले उहाँहरुलाई जनही रु ५० हजार नगदसहित कदरपत्रले सम्मान गर्नुभयो ।

‘नेपाली भाषा साहित्यिक पत्रकारिता पुरस्कार’ अग्रज साहित्यिक पत्रकार मोहन दुवाल र ‘मातृभाषा साहित्यिक पत्रकारिता पुरस्कार’ अग्रज साहित्यिक पत्रकार वीरबहादुर चन्दलाई प्रदान गरिएको हो । दुवाल पाँच दशकदेखि ‘जनमत’ साहित्यक पत्रिका प्रकाशन÷सम्पादन गर्दै आउनुभएको छ ।

चन्दले भने डोटेली भाषाको पत्रिका ‘गुगुल्डी’ प्रकाशन गर्दै आउनुभएको छ । उहाँ सुदूरपश्चिम प्रदेशका हुनुहुन्छ । चन्दले २०५४ सालदेखि गुगुल्डी मासिक पत्रिका प्रकाशन गर्र्दै आउनुभएको हो । उक्त समारोहमा प्राज्ञ अमर न्यौपानेले पुरस्कृत व्यक्तिकाबारेमा प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले साहित्यिक पत्रकारहरुका लागि केही गर्नुपर्छ भनेर प्रतिष्ठानले निर्णय गरेर गत वर्षबाट पुरस्कार दिन थालिएको बताउनुभयो । उहाँले साहित्यिक पत्रकारिता बलियो भएमात्रै राम्रा साहित्यकारहरु जन्मिने बताउनुभयो ।