काठमाडौं । निजामती विधेयकको ‘कुलिङ पिरियड’सम्बन्धी व्यवस्था हटाउन नेकपा (एमाले)का सांसदहरूले दर्ता गराएको संशोधन प्रस्तावको विषयले नेपाली कांग्रेसको बैठकमा प्रवेश पाएको छ । शुक्रबार बूढानीलकण्ठमा जारी बैठकमा नेताहरूले कांग्रेससँगको सहमतिविपरीत संशोधन प्रस्ताव दर्ता भएको बताएका छन् । एमालेका राष्ट्रियसभा सदस्यहरूले निजामती विधेयकमा रहेको दुई वर्षे कुलिङ पिरियडको प्रावधान हटाउन संशोधन प्रस्ताव राखेकोप्रति कांग्रेस नेताहरूले आपत्ति जनाएका हुन् ।
“यदि उहाँहरूले पार्टीगतरूपमा दर्ता गराएको भए हामीसँगको सहमतिमा प्रश्न उठ्छ, होइन भने एकरूपता कायम गरेर पुरानो सहमतिअनुसार जानुपर्छ भनेर नेताहरूले धारणा राखिरहनुभएको छ,” एक नेताले भने । कांग्रेस बैठकमा पार्टी पदाधिकारी, पूर्वपदाधिकारी, मन्त्रीहरू, प्रदेश सभापतिहरू सहभागी छन् ।बैठकमा रूपन्देही–३ को उपनिर्वाचनबारे पनि छलफल भएको छ ।
