कोरियाली प्रतिष्ठित सिन्हान बैंकको ‘सहायक म्यानेजर’मा हेमलता

कोरियाअपडेट समाचार

सोमित अधिकारी 

सौल/दक्षिण कोरिया

सन् २०१८ मा व्यवसाय प्रशासन अध्ययन गर्न दक्षिण कोरिया पुगेकी एक नेपाली युवतीले अनेकौं चुनौती पार गर्दै उल्लेखनीय सफलता हासिल गरेकी छिन्। विदेशी भुमिमा शैक्षिक योग्यता पूरा गर्दै सोही भुमिको प्रतिष्ठित बैंकमा नाम निकाल्न सफल भएकी छिन्।

उनी हुन् धनगढी स्थायी घर भएकी हेमलता शर्मा प्लस टु सकेर २०१८ मा कोरिया पुगेकी हेमलताले कामदार दैनिक सँगको संवादमा कयौं सपना बोकेर कोरिया प्रवेश गर्दा देखि त्यहाँ पुगेर उनले गरेको परिश्रम र सफलताको कथा सुनाइन्।

सुरुमा भाषा र चिनजान नभएको कारण अत्यन्त कठिनाइ भोगेकी उनले कडा मेहनत र लगनशीलताको आधारमा शतप्रतिशत छात्रवृत्तिसहित दक्षिण कोरियाको क्युङदोङ विश्वविद्यालयबाट स्नातक अध्ययन पूरा गरिन्। हप्तामा पाँच दिन, दैनिक पाँच घण्टा कक्षा लिंदै, सँगसँगै कामसमेत गरिरहँदा, घरबाट उनिप्रती गरिएको अपेक्षाहरूले उनलाई मानसिक रूपमा पनि दबाब दिएको थियो। तर अनेकौं बाधा र कठिनाइका बाबजुद उनले पुर्ण छात्रवृत्तिमा स्नातक गरिन। स्नातकपछि उनले ‘विश्वव्यापी संस्कृति उद्योग व्यवस्थापन’ मा स्नातकोत्तर अध्ययन पुरा गरिन् भने राम्रो पदको रोजगारीमा प्राथमिकता दिएको कारण हालसम्म विद्यावारिधि(पिएचडी) सुरु नगरेको बताउँछिन्।

हेमलताले कोरियाली आप्रवासन र एकीकरण कार्यक्रममा स्तर ४ पुरा गरी अहिले स्तर ५ मा अध्ययनरत छिन्। यसै क्रममा उनले क्याल्भिन विश्वविद्यालयको अन्तर्राष्ट्रिय कार्यालय, हानपास रेमिट्यान्स र दक्षिण कोरियास्थित नेपाली राजदूतावासमा सहायक जनसम्पर्क अधिकृतको रुपमा करिब १५ महिना काम गरिसकेकी छन्।

हाल उनी कोरियाको प्रतिष्ठित सिन्हान बैंकको केन्द्रीय कार्यालयमा ‘सहायक म्यानेजर’ पदमा नियुक्त भएकी छन्। अध्ययनको क्रममा उनले हाम्ज क्याम्पस मार्फत ‘वयस्क सिकाइ – मानसिक सीप’, ‘प्रशासनिक व्यवस्थापन’ र ‘दृढता सीप र आत्म-विश्वास निर्माण’ जस्ता तीनवटा अनलाइन प्रमाणपत्र समेत हासिल गरेकी छन्।

अहिले उनले प्राप्त गरेको अवसरलाई प्राथमिकता दिँदै विद्या वारिधि पछि गर्ने सोचमा रहेकी उनी कोरियामा नेपाली समुदायका लागि प्रेरणादायी पात्र बन्दै गएकी छन्।