धाँजा फाटेका खेतमा अकासेपानीले आशा जगाउँदै

कृषि

वीरगञ्ज (पर्सा), साउनः पर्साको जिराभवानी गाउँपालिका–५ कुडौलीका अगुवा कृषक अलखदेवप्रसाद थारूले आफ्नो साढे सात बिघा क्षेत्रफलमा बोरिङ र नहरको सिँचाइमार्फत जेनतेन गरी धान रोपाइँ गर्नुभयो । तर, उहाँलाई रोपेको धानको रोपो जोगाउने चिन्ताले पनि दिनरात सताई नै रह्यो ।

तराई–मधेसमा भएको सुक्खाग्रस्त भएसँगै उहाँले आफूले लगाएको धानको रोपो लगाएको खेत धाँजा फाटेसँगै धेरै दिन दुखित हुँदै आइरहेको दुखेसो पोख्नुभयो । “मलाई त धानको रोपो सुकेर जाने हो कि भन्ने चिन्ताले निकै सताइरह्यो,” उहाँले भन्नुभयो, “दुई दिनयता पर्सामा परेको अकासेपानीले चिन्ता केही कम भए पनि अझै पनि ढुक्क हुने अवस्था भने आइसकेको छैन ।”

कृषक थारूले पर्सामा पर्याप्त अकासेपानी नपरेकाले पनि अझै पनि कृषकहरु ढुक्क हुन नसकिरहेको गुनासो गर्नुभयो । उहाँ मात्रै होइन, वीरगञ्ज महानगरपालिका वडा नं २८ बगहीका चार बिघा धान खेती गर्दै आउनुभएका ग्यानलाल पटेल पनि अकासेपानी परेसँगै कृषकमा आशाको तन्द्रा जगाएको बताउनुभयो ।

“यहाँ पानी परेपछि अलिकति धान फल्छ कि भन्ने आशा जगाउने काम भइरहेको छ,” उहाँले भन्नुभयो, “सुक्खाग्रस्त हुँदा त धानको रोपो तथा बीउ पनि सुकिसकेको थियो । बीउ र धानको रोपो दुवै पलाउने आशा त जगाएको छ ।”

यहाँका कृषकले ठूलो पानी नपरे पनि केही सामान्य पानी परेकाले पनि आशाको त्यान्द्रो जीवितै रहेको बताउँछन् । त्यस्तै, पर्साका सखुवाप्रसौनी गाउँपालिका–२ का कृषक शम्भुप्रसाद यादवले आफ्नो ११ बिघा खेतमध्ये अहिलेसम्म डेढ बिघा क्षेत्रफलमा धान रोप्नै बाँकी रहेको बताउनुभयो ।

“हामीले चैतेधान रोपेको डेढ बिघा जग्गामा अझै पनि धान रोप्न सकिरहेका छैनौँ”, उहाँले भन्नुभयो, “एक त चैतेधान भित्र्याउनै ढिलो भयो । अर्काेतर्फ नियमित बिजुली नआउँदा पनि बोरिङमार्फत पनि धान रोप्न सकिरहेका छैनौँ ।” कृषक यादवले अकासेपानीकै भरमा आफूहरु रहेको बताउनुभयो ।

मधेस प्रदेश कृषि विकास निर्देशनालयका वरिष्ठ वागवानी विकास अधिकृत प्रदीपकुमार यादव मधेश प्रदेशमा दुई दिनयता परेको पानीले धान रोपेको खेतका लागि राम्रो गरिरहेको बताउनुभयो । “धान रोपाइँ हुन नसकेको खेतमा पनि पानीको उपलब्ध बढिरहेको छ,” उहाँले भन्नुभयो, “केही दिनयता परेको पानीले समग्र मधेस प्रदेशका कृषकका लागि धेरै हदसम्म लाभान्वित बनाइरहेको छ ।” वरिष्ठ वागवानी अधिकृत यादवले धनुषा, सिरहा, सप्तरी लगायतका जिल्लामा पानी धेरै परेको जानकारी दिनुभयो ।

निर्र्देशनालयका अनुसार गत शुक्रबारसम्म मधेस प्रदेशमा आठ जिल्लामा धान रोपाइँ हुने तीन लाख ७२ हजार ६४५ हेक्टरमध्ये हालसम्म भने ५७ दशमलव २७ अर्थात् दुई लाख १३ हजार ४३८ हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ भएको छ । निर्देशनालयका अनुसार धनुषामा धान रोपाइँ हुने क्षेत्रफलमध्ये ४० प्रतिशत, महोत्तरीमा ३९ दशमलव ७३ प्रतिशत, सप्तरीमा ४० प्रतिशत र सिरहामा ५० प्रतिशत मात्रै धान रोपाइँ भएको छ । त्यस्तैगरी, सर्लाहीमा ६५ प्रतिशत, रौतहटमा ७३ प्रतिशत र बारा जिल्लामा भने ८३ प्रतिशत धान रोपाइँ भएको छभने पर्सामा सवैभन्दा धेरै अर्थात् ८५ प्रतिशत धान रोपाइँ भएको छ ।

कृषि ज्ञान केन्द्र पर्साका प्रमुख रामजीवन ठाकुर अकासेपानी परेपछि नयाँ रोपाइँ हुन नसकेपछि रोपाइँ भएको खेतलाई पनि केही सहज हुने बताउनुहुन्छ । “रोपेको धानलाई केही राहत त भएको छ । रोपाइँका लागि अहिले परेको जति पानी पर्याप्त छैन् ।” उहाँले भन्नुभयो, “यहाँको खेतीयोग्य जग्गा पूरै नै सुक्खा रहेको छ । अब नियमित पानी परेको खण्डमा पानी जमेर रोपाइँ गर्न सम्भव हुनेछ ।”

प्रमुख ठाकुरले पर्सा अकासेपानीले जिल्लामा धान रोपाइँ भएर धाँजा फाटेका खेतका लागि भने धेरै सहयोगी हुने बताउनुभयो । “हिजोआज परेको सामान्य पानीले नयाँ रोपाइँ गर्न त पानी पुग्ने अवस्था नै छैन,” उहाँले भन्नुभयो, “गत शुक्रबारसम्म पर्सामा ८५ प्रतिशत धान रोपाइँ हुने खेतमा सिँचाइ भइरहेको छ ।”

आकासेपानी परेसँगै बाराका कृषकमा पनि उत्साह थपिएको कृषि ज्ञान केन्द्र बाराका प्रमुख राज नारायणप्रसाद साहले बताउनुभयो । “अकाशेपानी परेसँगै धानको रोपोलाई धेरै हदसम्म राहत भएको छ । धान नरोपिएको ठाउँमा भने धान रोप्नका लागि चाहिने पर्याप्त पानीको अझै पनि अभाव कायमै छ,” उहाँले भन्नुभयो, “बारा जिल्लामा अकासेपानीको मात्रै भरपर्ने कृषकबाहेक अन्यको रोपाइँ भइसकेको छ । विकल्प नभएका कृषकको मात्रै रोपाइँ हुन सकिरहेको छैन ।”

यहाँ अझै ठूलो मात्रामा पानी पर्न आवश्यक छ । केही दिनभित्रै पानी परेको खण्डमा छिट्टै रोपाइँ पनि सकिने थियो । बारामा आइतबारसम्म करिब ८५ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको छ । बारा जिल्लामा रोपेका धानमध्ये करिब ५० प्रतिशत खेतमा धाँजा फाटेको बताउनुभयो ।

कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख कमलदेवप्रसाद कुशवाहा अकासेपानी परेसँगै जिल्लाका कृषकलाई केही हदसम्म राहत भएको बताउनुभयो । धान रोपाइँ गर्नका लागि त धेरै पानीको आवश्यकता पर्ने गर्छ । दुई दिन परेको पानीले यहाँका कृषकलाई केही हदसम्म भए पनि राहत दिने काम गरेको छ ।

सर्लाहीमा करिव ७० प्रतिशत धान रोपाइँ भइसकेको छ । “पानी नपर्दा यहाँका खेतमा धाँजा फाटेको थियो,” उहाँले भन्नुभयो, “अब पानी परेसँगै धाँजा फाटेर सुकेको रोपो पनि फेरि पलाउने आशा जगाएको छ ।” प्रमुख कुशवाहाले यहाँका खेतहरु धेरै नै सुक्खाग्रस्त भएकाले पनि अझै धेरै पानी गर्न जरुरी रहेको बताउनुभयो ।

बारा र सर्लाहीमा मात्रै नभएर रौतहटका कृषकहरुलाई पनि पानी परेपछि केही राहतको सास फेरेका छन् । सुक्खाग्रस्त भएर समस्यामा परेका कृषकलाई पानी परेसँगै ठूलो राहत भएको कृषि ज्ञान केन्द्र रौतहटका प्रमुख सुरेद्रप्रसाद कुर्मी बताउनुहुन्छ ।

“अकासेपानीले यहाँका रोपेका धानलाई सहयोग गरे पनि रोपाइँ नभएका ठाउँमा भने पानीको अपर्याप्त जारी नै छ,” उहाँले भन्नुभयो, “अझै केही दिन पर्याप्त मात्रामा पानी परेको खण्डमा यहाँका कृषकले राहत प्राप्त गर्न सक्नेछन् ।”