एनआरएनए दक्षिण कोरियाको सामाजिक उत्थानमा पाँच उल्लेखनीय कार्यहरू: एक महिनाभित्रै आपतकालीन सहायतादेखि क्षतिपूर्तिसम्म

कोरियाअपडेट

भावना कार्की

सौल/ दक्षिण कोरिया

गैर-आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद्, दक्षिण कोरियाले पछिल्लो एक महिनाको अवधिमा नेपाली श्रमिक तथा विद्यार्थीहरूमाथि परेका आपतकालीन अवस्थाहरूमा उल्लेखनीय सामाजिक जिम्मेवारी निर्वाह गर्दै पाँच महत्त्वपूर्ण कार्यहरू सम्पन्न गरेको छ। पीडितका पक्षमा न्यायिक सहायता, तलब उपलब्धता, उपचार सहजीकरण र क्षतिपूर्ति दिलाउने प्रक्रियामा संघले सक्रिय भूमिका निर्वाह गरेको छ।

1️⃣ मेसिन दुर्घटनाबाट घाइते श्रमिकको अस्पतालमै गई सहयोग

चितवनका राजन सुनुवार दक्षिण कोरियाको छङ्जुस्थित 마이크로 병원 मा कार्यरत रहँदा मेसिनमा हात च्यापिँदा गम्भीर घाइते भई औंलाहरू काटिन पुगेका थिए। घटनापछि एनआरएनएका अध्यक्ष विपिन कुमार गुरुङज्यू स्वयं अस्पताल पुगेर पीडितको अवस्था बुझ्नुका साथै कानुनी प्रक्रिया, क्षतिपूर्ति, बीमा र रोजगारदाताको जिम्मेवारीसम्बन्धी पहल सुरु गर्नुभएको थियो। कानुनी प्रतिनिधि मार्फत प्रक्रिया अगाडि बढाइँदा पीडितलाई उल्लेखनीय राहत प्रदान गरिएको छ।

2️⃣ पारिश्रमिक नपाएका दुई नेपाली महिलालाई तलब दिलाइयो

शिर्जना पौडेल र दीपिका रिजाललाई कम्पनीले ६२ दिन काम गरिसकेपछि बिना तलब निकालेको सूचना प्राप्त भएपछि संघको पहलमा १५ मिलियन वोन (लगभग १५ लाख रुपैयाँ) बराबरको पारिश्रमिक उपलब्ध गराइएको छ। साथै, स्वास्थ्य समस्या भोगिरहेकी दीपिका रिजालको लागि कोषाध्यक्ष सुष्मा तामाङ (सुजिन) को पहलमा अस्पताल परिवर्तन गरिँदै उचित उपचारको व्यवस्था मिलाइएको हो।

3️⃣ प्यारालाइसिस भएका डोलराज काफ्लेको उपचारमा सहयोग अभियान

रुपन्देहीका डोलराज काफ्ले उच्च रक्तचापका कारण अङ्गविकार (प्यारालाइसिस) भई 경기도 남양주स्थित 피립 재활요양 병원 मा उपचाररत छन्। संघका वरिष्ठ उपाध्यक्ष जित कुवरले अस्पताल पुगेर प्रारम्भिक सहयोग गरेपछि उपचार खर्च व्यवस्थापनका लागि सहयोग अभियान सञ्चालन गरिएको छ। साथै, कानुनी सहजीकरण पनि संघले निरन्तर अघि बढाइरहेको छ।

4️⃣ विद्यार्थी पेमा डोमा तामाङको क्षतिपूर्ति सहजीकरण

D-2 विद्यार्थी भिसामा दक्षिण कोरियामा अध्ययनरत पेमा डोमा तामाङको चार वटा औंला दुर्घटनामा परेर छिनिएको थियो। प्रारम्भिक अवस्थामा एक्लै व्यवस्थापन गर्न असहज भएको अवस्थामा एनआरएनएको पहलमा कम्पनीबाट सम्पूर्ण उपचार खर्च उपलब्ध गराइयो। साथै कानुनी प्रक्रिया अगाडि बढाइएको छ भने सह-कोषाध्यक्ष सुष्मा तामाङ घटनामा सहजीकरणका लागि निरन्तर सक्रिय छिन्।

5️⃣ होम विष्टको तलब दिलाउँदै कानुनी प्रक्रिया सुरु

कामको क्रममा औंला काटिएका होम विष्टलाई कम्पनीले “किचनमा काटिएको” भन्दै उपचार खर्च अस्वीकार गर्दै कामबाट हटाएको थियो। संघको सक्रियतामा १४ दिनको तलब (१० लाख वोन) दिलाइएको छ। साथै, पुनः रोजगारको व्यवस्था गरिएको छ भने क्षतिपूर्तिका लागि कानुनी प्रक्रिया अघि बढाइएको छ।

सामाजिक जिम्मेवारीमा एनआरएनएको अग्रसरता

गैर-आवासीय नेपाली संघ, दक्षिण कोरियाले श्रमिक तथा विद्यार्थीका विविध समस्या समाधानमा कानुनी, भाषिक, आर्थिक तथा मनोवैज्ञानिक सहायता उपलब्ध गराउँदै आएको छ। महासचिव अजय सोडारीका अनुसार, “हामी प्रत्येक आपतकालीन अवस्थालाई हाम्रो आफ्नै समस्या ठानेर सहजीकरणमा जुटिरहेका छौं। सामाजिक उत्तरदायित्व हाम्रो प्रतिबद्धता हो।”