सोमित अधिकारी
सौल/ दक्षिण कोरिया ।
दक्षिण कोरियाको राजधानी सउलमा आगामी २०८२ साल भदौ ८ गते, आइतबार (२०२५ अगस्ट २४) का दिन आयोजना हुन लागेको ‘सुपा देउराली तीज विशेष कार्यक्रम २०२५’ को सम्पूर्ण तयारीहरू अन्तिम चरणमा पुगेका छन्। अर्घाखाँची सम्पर्क मञ्च, दक्षिण कोरियाको आयोजनामा हुन लागेको यो सांस्कृतिक उत्सवको तयारी अब निर्णायक मोडमा पुगेको आयोजक समिति बताएको छ ।

कार्यक्रम संयोजकद्वारा प्राप्त जानकारी अनुसार, यस वर्षको तीज कार्यक्रम विगत वर्षहरूभन्दा अझ भव्य, सुसङ्गठित र सांस्कृतिक विविधताले भरिपूर्ण हुने अपेक्षा गरिएको छ। सम्पूर्ण कार्यसमिति, सल्लाहकार मण्डल तथा स्वयंसेवक टोलीले निरन्तर छलफल, तयारी र समन्वयको प्रक्रियाबाट कार्यक्रमलाई सफल बनाउन अहोरात्र खटिएको जनाइएको छ।
🔸 विशेष आकर्षणहरू
• तीज विशेष नृत्य: कोरियामा रहेका नेपाली दिदीबहिनीहरूले प्रस्तुत गर्ने मौलिक तथा समसामयिक नृत्यहरू।
• सांगीतिक प्रस्तुति: स्थानीय कलाकारहरूबाट तीजका भाका र लोकधुनमा रमाइलो
. कोरियामा रहेका नेपाली कलाकार द्वारा नृत्य तथा गायन प्रस्तुति।
• नेपाली खाना: स्वादिलो नेपाली मौलिक परिकारहरूको विशेष तयारी
कार्यक्रमको प्रवेश शुल्क निर्धारण भइसकेको छ –
• महिला सहभागिहरूका लागि: १५,००० कोरियन वोन
• पुरुष सहभागिहरूका लागि: ३०,००० कोरियन वन तोकिएको छ ।
सुपा देउराली तीज विशेष कार्यक्रम केवल मनोरञ्जनको लागि मात्र नभई सांस्कृतिक जगेर्ना, सामुदायिक एकता, र विदेशी भूमिमा नेपालीपनको पहिचान संरक्षण गर्नेतर्फ लक्षित छ। कार्यक्रममार्फत नयाँ पुस्तालाई नेपाली चाडपर्वप्रति जागरूक तुल्याउने र आपसी सहयोग, सद्भाव, सहकार्यको भावना विकास गराउने अभिप्राय रहेको आयोजकहरूले बताएका छन्।
अन्तिम अपिल
कार्यक्रम आयोजकहरूले सम्पूर्ण सहभागी, शुभेच्छुक, साथीभाइहरूलाई समयमै कार्यक्रमस्थलमा उपस्थित भई सांस्कृतिक उत्सवलाई भव्य बनाउन आग्रह गरेका छन्।
‘सांस्कृतिक पहिचानको संरक्षण, प्रवासमा पनि नेपालीपनको निरन्तर प्रसारण – सुपा देउराली तीज विशेष कार्यक्रम २०२५’ यही उद्देश्यका साथ सम्पन्न हुने अन्तिम तयारी पूरा भइसकेको छ।
