ट्रम्प र पुटिन युक्रेन वार्ताका लागि अलास्कामा भेट्दै

अन्तराष्ट्रिय

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्धको भविष्यबारे छलफल गर्न १५ अगस्टमा अलास्कामा भेट गर्ने भएका छन् । ट्रम्पले सामाजिक सञ्जालमार्फत अलास्कामा भेट्ने सहमति भएको घोषणा गरेका छन् । उक्त विषयपछि रुसी राष्ट्रपतिको कार्यालय क्रेमलिनका प्रवक्ताले यसको पुष्टि गर्दै अलास्काको स्थान रूसको नजिक भएकाले तर्कसंगत भएको बताए ।

प्रवक्ताले ट्रम्पलाई दोस्रो शिखर सम्मेलनका लागि रूसमा आमन्त्रण गरिएको पनि बताए । अर्को हप्ताको भेटको घोषणा ट्रम्पले युक्रेनले युद्ध अन्त्य गर्न क्षेत्र छोड्नुपर्ने संकेत गरेको केही घण्टापछि भएको हो । रूसले सन् २०२२ को फेब्रुअरीमा युक्रेनमाथि पूर्ण आक्रमण सुरू गरेको थियो ।

“हामी तीन वर्षभन्दा बढी समयदेखि भइरहेको लडाइँ भएको क्षेत्रको बारेमा कुरा गरिरहेका छौँ, धेरै रूसी र युक्रेनीहरूको मृत्यु भएको छ,” ट्रम्पले शुक्रबार ह्वाइट हाउसमा भने । “यो धेरै जटिल छ । हामीले केही क्षेत्र फिर्ता लिनेछौँ, केही साटिनेछ । क्षेत्रहरूको साटफेर हुनेछ, जुन दुवै पक्षका लागि फाइदाजनक हुनेछ ।” अमेरिकी राष्ट्रपतिले यो प्रस्ताव कस्तो हुने भन्नेबारे थप विवरण दिएनन् ।