सोमित अधिकारी
सौल /दक्षिण कोरिया ।
कोरियामा रहेका नेपाली श्रमिक, विद्यार्थी तथा कागजात नवीकरण नभएकाहरूले अब निःशुल्क स्वास्थ्य सेवा पाउने भएका छन्। गैर आवासीय नेपाली संघ (NRNA) दक्षिण कोरिया र कोरियाली चिकित्सक समाजबीच बुधबार विशेष कार्यक्रमका बीच स्वास्थ्य सहयोग सम्बन्धी सम्झौता भएको हो।
सम्झौतापत्रमा NRNA दक्षिण कोरियाकी अध्यक्ष पार्वती मोक्तान र कोरियाली चिकित्सक समाजका अध्यक्ष इम सक योङले हस्ताक्षर गरेका छन्।
यस सम्झौता अनुसार सेप्टेम्बर २० देखि सुरु हुने सेवामा दुई महिनामा एकपटक स्वास्थ्य शिविर आयोजना गरिनेछ। शिविरमा बिरामीहरूको जाँच र आवश्यक औषधि उपलब्ध गराइनेछ। चिकित्सक समाजले औषधि, जनशक्ति र आवश्यक उपकरण उपलब्ध गराउने भने NRNA दक्षिण कोरियाले प्रचार–प्रसार, बिरामी दर्ता र सहजीकरणको जिम्मेवारी सम्हाल्नेछ।
सम्झौता हस्ताक्षर कार्यक्रममा NRNA का वरिष्ठ उपाध्यक्ष तारा पुन मगर, उपाध्यक्ष निरञ्जन भण्डारी, सचिव सोनाम शेर्पा, महिला संयोजक मिता गुरुङ लगायतको उपस्थिती रहेको थियो।
NRNA दक्षिण कोरिया सबै नेपालीहरूलाई यस निःशुल्क स्वास्थ्य सेवाको अधिकतम लाभ लिन आग्रह गरेको छ।
