काठमाडौँ, ३१ साउनः राजनीतिक विश्लेषक तथा अधिवक्ताहरूले भ्रष्टाचार अन्त्य गर्दै देशलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउन सरकारसँग आग्रह गरेका छन् । यहाँ आज आयोजित साक्षात्कार कार्यक्रममा उहाँहरूले मुलुकको राजनीतिक व्यवस्था परिवर्तन भए पनि देश र जनताको अवस्थामा परिवर्तन आउन नसकेको भन्दै सुशासन कायम गर्दै पारदर्शी सेवा प्रवाह गर्नुपर्नेमा जोड दिएका हुन् ।
नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेकपा (माओवादी केन्द्र) लगायतका दलहरु एकजुट भएर जनताको अवस्था परिवर्तनमा लाग्न वक्ताहरुले आग्रह गर्नुभयो । राजनीतिक विश्लेषक प्रा डा सुरेन्द्र केसीले मुलुकलाई भ्रष्टाचार मुक्त बनाउँदै सङ्घीय संसद्, प्रतिनिधिसभा र प्रदेशसभाका सांसद तथा मन्त्रालयको सङ्ख्या घटाएर सानो बनाउनुपर्नेमा जोड दिनुभयो ।
अर्थविद् प्रा डा गोपिलाल न्यौपानेले देशलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन सरकारले कृषि र पर्यटनसँगै उद्योग÷कलकारखानामा लगानी बढाउनुपर्ने बताउनुभयो । अधिवक्ता स्वागत नेपालले भ्रष्टाचार अन्त्यका निम्ति सरकारले कडा कानुन बनाएर कडाइका साथ कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । नागरिक समाजका अगुवा डा सुन्दरमणि दीक्षितले भ्रष्टाचार मौलाएकै कारण नेपालको प्रगति हुन नसकेको उल्लेख गर्दै सरकारी निकायको वडादेखि सङ्घीय सरकारसम्म हुने सबै किसिमका भ्रष्टाचार अन्त्य गर्नुपर्ने बताउनुभयो ।
