‘साहित्य जीवनको प्रभावशाली पक्ष’

समाचार

काठमाडौँ, भदौ ः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले साहित्य र कला संस्कृति मानव जीवनको प्रभावशाली पक्ष भएको बताउनुभएको छ । साहित्यकार तथ कवि बाबा बस्नेतका तीन कृति रङ्गीन घरहरू (कथा), ढुङ्गामा आकार (कविता) र आवाज (श्रव्य नाटक सङ्ग्रह) को आज यहाँ विमोचन गर्दै उहाँले सक्रिय राजनीतिमा आउनुअघि आफ्नो कला साहित्यप्रति गहिरो लगाव रहेको बताउनुभयो ।

“साहित्य, कला व्यक्तिको जीवन र सामाजिक जीवनको प्रभावशाली र संवेदनशील क्षेत्र हो, राजनीतिमा लाग्नु अघि मेरो पहिलो प्राथमिकता साहित्य नै थियो”, अध्यक्ष दाहालले भन्नुभयो, “पहिलो पटक प्रधानमन्त्री भएपछि कला, संस्कृति र खेलकुद क्षेत्रलाई उच्च प्राथमिकतामा राख्नुपर्छ भनेर यस क्षेत्रको विकासमा सक्दो प्रयास गरेँ ।”

हाल मुलुकको राजनीति अस्थिर र संवेदनशील अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै उहाँले राजनीतिलाई सही ट्रयाकमा ल्याउन आफूले भूमिका खेलिरहेको बताउनुभयो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले साहित्यकार बस्नेतको वैचारिक भूमिकाको चर्चा गर्दै देश र जनतलाई केन्द्रमा राखेर आफ्नो लेखन अघि बढाउन सुझाव दिनुभयो ।