काठमाडौँ | ३० भदौ : सरकारले निजगढ विमानस्थलाई ‘ग्रिनरी एयरपोर्ट’ बनाउने र बढीभन्दा बढी वातावरण संरक्षणमा ध्यान दिने भएको छ । विमानस्थल निर्माणको नाममा वातावरणको विनाश गर्न लागिएको र त्यसले जैविक विविधताको समेत प्रतिकूल हुने भन्दै आलोचना हुन थालेपछि सरकारको उक्त धारणा सार्वजनिक भएको हो । वार्षिक छ करोड यात्रुको चाप धान्ने गरी विमानस्थल निर्माण गर्न लागिएको र एशिया प्रशान्त क्षेत्रको ‘हव’ विमानस्थलका रुपमा निजगढलाई अगाडि सारिएको हो ।
विमानस्थल निर्माणका लागि चर्चिएको आठ हजार हेक्टर जमीनमध्ये पहिलो चरणमा दुई हजार ५९३ दशमलव ९५ हेक्टर मात्रै जमीन चाहिनेछ । त्यसका लागि एक लाख ९४ हजार ४८० रुख काट्नुपर्ने देखिन्छ । हात्तीलगायत जङ्गली जनावरको जैविक मार्ग विनाश हुने, पानीको मुहान सुक्ने तथा वातावरणीयरुपमा ठूलो जोखिम पर्ने भन्दै आयोजनाको विरोध शुरु भएको छ । सरकारले भने विद्यमान ऐन, नियम तथा कानूनको परिधिमा रही रुख काट्ने र वातावरण संरक्षणलाई विशेष प्राथमिकतामा राख्ने तथा एउटा रुख काटेपछि २५ वटा रुख रोप्ने योजना बनाएको छ ।
भारतको इन्दिरा गान्धी विमानस्थलभन्दा ठूलो विमानस्थल बनाउने सरकारको योजना छ । पहिलो चरणमा एउटा धावनमार्ग, दोस्रोमा दुई वटा गरी तीन धावनमार्ग निर्माण गर्ने लक्ष्य राखिएको छ । विमानस्थललाई विद्यमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रुपमा अगाडि सारिएको छ । तर विमानस्थल पनि बनाउनुपर्छ, रुख भने काट्न पाइँदैन भन्ने मान्यताका साथ आलोचना भएकामा सरकारले आपत्ति जनाएको छ । वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनका आधारमा मात्रै रुख काटिने भएकाले अनावश्यक तर्क, आलोचना तथा विरोध गर्नुको तुक नरहने सरकारको प्रष्ट धारणा रहेको छ । सो विमानस्थलको चर्चा शुरु भएको ३२ वर्षपछि एउटा प्रक्रियामा अगाडि बढ्न थालेको विमानस्थलाई यतिखेर वातावरण संरक्षणको नाममा अल्झाउन खोजिएको छ । जुन सरासर गलत रहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणमा आज आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले भन्नुभयो, “निजगढ विमानस्थल नेपालका लागि आवश्यक छ, सरकारले यसलाई निर्माण गर्छ तर ग्रिनरी एयरपोर्टका रुपमा विकास गर्छ, त्यस बाहेकका अरु विषय तपसिलमा रहन्छन् ।” आर्थिक समृद्धि र विकासका लागि पनि ठूला भौतिक पूर्वाधारको निर्माण जरुरी रहेको उल्लेख गर्दै उहाँले काठमाडौँ तराई–मधेश द्रुतमार्ग र विमानस्थल निर्माणपछि देशको कायापलट हुने विश्वास व्यक्त गर्नुभयो ।
सन् १९९५ मा भएको एक अध्ययनअनुसार उक्त विमानस्थल एशिया प्रशान्त क्षेत्रकै लागि उपयुक्त विमानस्थलका रुपमा रहेको छ । तराईको जस्तो बाक्लो हुस्सु पनि नलाग्ने, हिमाल जस्तो प्राकृतिकरुपमा अन्य समस्या नभएको वातावरणीयरुपमा समेत सो विमानस्थल उपयुक्त रहेको मन्त्री अधिकारीको भनाइ छ ।