मनाङ, ११ भदौ : मनाङ जिल्लाका नवनियुक्त प्रमुख जिल्ला अधिकारी नवराज पौडेलले पद बहाली गर्नुभएको छ । इलाका प्रशासन कार्यालय फर्पिङका प्रमुख पौडेललाई एक साताअघि मनाङ प्रशासनको जिम्मेवारी दिइएको थियो ।
पदबहाली गरेपछि आज प्रजिअ पौडेलले शान्ति सुरक्षा, कानुन र व्यवस्था कायम राख्न कतैबाट पनि कमजोरी हुन नहुने बताउनुभयो । उहाँले कामबाटै सरकारी कर्मचारीप्रति नागरिकको दृष्टिकोण बन्ने भएकाले सबै निकाय नागरिकप्रति जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।
व्यक्तिगतभन्दा सामूहिक कार्यलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै प्रजिअ पौडेलले नागरिकप्रति सहज तर मुद्दाप्रति कडा रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले सूचना प्रविधि (आइसिटी) आधारित सेवा प्रवाहलाई अघि बढाउने बताउँदै दुर्गम क्षेत्रमा घर–घरमै सेवा पुर्याउने योजना रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “सेवाग्राहीलाई यो भएन, त्यो भएन भनेर फर्काउने होइन, कसरी सेवा दिएर पठाउने भन्नेमा प्रशासन सजग रहन्छ ।”
