काठमाडौँ, १८ भदौ : सूचना र प्रविधिको विकाससँगै अधिकांश क्षेत्र अहिले डिजिटल प्रविधिमय भएको छ । नेपाली चलचित्र क्षेत्र पनि यसबाट अछुतो हुन सकेन । चलचित्र निर्माणदेखि प्रदर्शनसम्मको हरेक गतिविधि ‘डिजिटल प्रविधि’ मा रुपान्तरण हुनुपर्ने वाध्यता सिर्जना भएको छ ।
यद्यपि यो समयसम्म आउन नेपाली चलचित्रले ‘सेलुलाइड’ युगलाई पार गर्नुपरेको थियो । उक्त समयमा चलचित्रको चारदेखि पाँच प्रिन्ट तयार गरेपछि प्रदर्शन गरिन्थ्यो । एउटा चलचित्र भवनबाट अर्को चलचित्र भवनमा चलचित्र प्रदर्शन गर्न समय हेरफेर गर्नुपर्ने अवस्था थियो । प्रिन्टको सङ्ख्या बढाउँदा निर्माण लागत पनि बढ्ने भएकाले सीमित प्रिन्टबाट समय हेरफेर गरेर चलचित्र प्रदर्शन गरिन्थ्यो ।
सीमित प्रिन्ट मोफसलमा प्रदर्शन भएर काठमाडौँ आउँदा कोरिने, प्वाल पर्नेलगायतका समस्याका कारण कतिपय चलचित्र भवनमा धमिलो देखिन्थ्यो । सोह्र मिलिमिटरमा खिचेर ३५ मिलिमिटरमा प्रदर्शन गर्दा गुणस्तरमा कमी आउँथ्यो । फलतः सहरिया दर्शकको रोजाइमा नेपाली चलचित्र कम पर्न थाल्यो । किनकी यता सोही मूल्यमा हेर्न पाइने विदेशी चलचित्र भने गुणस्तरीय थियो ।
ध्वनि, छायाङ्कन, प्रदर्शनमा देखिएको यवात् समस्यालाई महसुस गरिरहनुभएका निर्माता तथा निर्देशक अशोक शर्माले नेपाली चलचित्रलाई ‘डिजिटल युग’तर्फ मोड्नुभयो ।
“हामीले जुन गुणस्तरको चलचित्र ल्याइरहेका थियौँ, त्यसले लामो समय निरन्तरता दिन गाह्रो छ भन्ने मलाई लागेको थियो”, निर्देशक शर्माले भन्नुभयो, “किनकी हामीले फड्को मार्न सकिरहेका थिएनौँ । अन्य देशका चलचित्र उद्योगमा भइरहेको रुपान्तरण हामीकहाँ हुने सम्भावना नै थिएन ।”
चलचित्र निर्माणको सुरुआत ३५ मिलिमिटरबाट गरिएको भएता पनि लगानी कम गर्न १६ मिलिमिटर हुँदै ‘भिडिओ’ चलचित्र बन्न थालेपछि सहरिया दर्शक घटेको उहाँले बताउनुभयो । त्यहीक्रममा ‘जय नेपाल चलचित्र’ भवनलाई नयाँ स्वरूपमा सञ्चालन गर्ने तयारीमा रहनुभएका भाष्कर ढुङ्गानासँग निर्देशक शर्माको भेटभयो ।
सुरुमा उक्त हलमा विदेशी चलचित्र मात्र प्रदर्शन हुन्थ्यो । यद्यपि लक्षित दर्शक हलसम्म आएनन् । निर्देशक शर्मालाई नेपाली चलचित्रको निर्माण र कथ्य शैलीमा परिवर्तन आउनुपर्छ भन्ने लाग्यो । यसै सन्दर्भमा ‘डिजिटल प्रविधि’को आवश्यकता महसुश भएको निर्देशक शर्माको भनाइ थियो । भारतमा सन् २००५ मा भित्रिएको ‘डिजिटल प्रविधि’ लाई नै नेपालको लागतसँग मिल्दो पाएपछि नेपाल ल्याइयो ।
डिजिटल प्रविधि भित्रिएपछि उहाँले प्रदर्शक ढुङ्गानासहित सम्बद्ध क्षेत्रका केही व्यक्तिसँग मिलेर ‘डिजिटल सिनेमा नेपाल (डिसिएन)’ को सुरुआत गर्नुभयो । उक्त प्रविधि नेपाल भित्रिएसँगै निर्माता तथा निर्देशकका लागि जानकारी दिन ‘प्रदर्शनी’ को आयोजना गरियो । त्यसपछि जय नेपाल हलमा ‘हलिउड’ र ‘बलिउड’का चलचित्र डिजिटल प्रविधिमै देखाइयो । तर, नेपाली चलचित्रको निर्माणमा परिवर्तन आएको थिएन । ‘सेलुलाइड प्रविधि’मै निर्माण हुँदा त्यसको प्रदर्शन अन्य प्रविधिमा सम्भव थिएन ।
“प्रविधिको गुणस्तर बुझाउन हाम्रो ‘डिसिएन’कै केही साथीहरुले ‘कागबेनी’ चलचित्र निर्माण गर्नुभयो । त्यसका लागि छायाङ्कन गर्ने क्यामेरादेखि सम्पादन गर्ने कम्प्युटरसम्म तयार ग¥याँै”, निर्देशक शर्माले भन्नुभयो ।
टेलिभिजनकर्मी भूषण दाहालले निर्देशन गर्नुभएको ‘कागबेनी’ चलचित्रले नयाँ कथ्य शैली र दृश्य भाषालाई प्रस्तुत ग¥यो । त्यहाँ परम्परागत प्रस्तुतीकरण थिएन न त हिरो भन्ने शब्दसँग मिल्दो भाष्य नै थियो । त्यसले दर्शकलाई केही हदसम्म नेपाली चलचित्रको नयाँ युगसँग परिचित गरायो ।
