नेपालमा हिजो भएको Gen Z आन्दोलन अत्यन्तै हिंसात्मक बनेपछि ठूलो जनहानि भएको छ। नेपाल सरकार प्रहरीसँगको भिडन्तमा करिब १९–२० जनाले ज्यान गुमाएका छन् भने ३ सय भन्दा बढी घाइते भई काठमाडौं उपत्यकासहितका अस्पतालहरूमा उपचाररत छन्। आन्दोलन नियन्त्रण बाहिर गएपछि सरकारले उपत्यकामा कर्फ्यु लगाएको थियो, तर आक्रोशित युवाहरू सडकमा निरन्तर विरोधमा उत्रिएका थिए।
नेपालमा बढ्दो भ्रष्टाचार ,सामाजिक सञ्जाल बन्द गर्ने निर्णय र सरकारले गरेको राजनीतिक कदमविरुद्ध युवाहरूले सुरु गरेको आन्दोलन छोटो समयमा नै व्यापक भएको हो। आन्दोलनकै क्रममा भएको मृत्यु र घाइतेहरूको पीडाले देशै स्तब्ध बनेको छ।
यस्तै अवस्थामा विदेशमा रहेका नेपालीहरू पनि मौन बसेका छैनन्। दक्षिण कोरियामा रहेका नेपालीहरूले आकस्मिक उपचारमा कमी नहोस् भन्ने उद्देश्यले ठूलो सहयोग अभियान सुरु गरेका छन्। MRR Korea समूहको नेतृत्वमा सुरु भएको यो अभियानमा वूरी बैंकको खाता सार्वजनिक गरिएको छ। अभियानमा समन्वयकर्ताहरूका सम्पर्क नम्बरहरू समेत उपलब्ध गराइएको छ।
अभियान सुरु भएको केही घण्टामै सहयोग रकम आश्चर्यजनक दरले बढेको छ। मध्यान्ह १२ः३० बजेसम्मकै तथ्यांकअनुसार २१,८००,००० कोरियन वोन संकलन भइसकेको छ। यो रकम नेपाली रुपैयाँमा झण्डै २१ लाख बराबर हुन्छ। अभियान संयोजकहरूले राति ९ बजेपछि अर्को अपडेट दिने जनाएका छन्।
युवा पुस्ताले नेतृत्व गरेको आन्दोलनलाई धेरैले ‘Gen Z को विद्रोह’ भन्दै सम्बोधन गरेका छन्। आन्दोलनमा भएको ठूलो जनहानि र हिंसात्मक घटनाले अन्तर्राष्ट्रिय समुदायसमेत चिन्तित बनेको छ।
तर तत्कालको प्राथमिकता भनेकै अस्पतालमा उपचाररत घाइतेहरूलाई जीवनरक्षक उपचार उपलब्ध गराउनु हो। यही कारणले विदेशमा रहेका नेपालीहरूले सहयोग संकलनलाई गति दिएका छन् र अझै ठूलो रकम संकलन हुने अपेक्षा गरिएको छ।
(साभारः बिशाल आवाज)
