सुदूरपश्चिम समाज, दक्षिण कोरियाले अक्टोबर ५ र ६ तारिखका दिन सौलमा भब्य रुपमा दसैं मनाउने

कोरियाअपडेट

कामदार दैनिक 

सौल/ दक्षिण कोरिया ।

सुदूरपश्चिम समाज, दक्षिण कोरियाले यस वर्षको बडादशैंलाई विशेष र सांस्कृतिक रंगमा मनाउने तयारी गरेको छ। समाजले आगामी अक्टोबर ५ र ६ तारिख (असोज) राजधानी सौल नजिकै भव्य टिका ग्रहण, देउडा तथा वनभोज कार्यक्रम आयोजना गर्ने भएको हो।

आयोजकका अनुसार कार्यक्रममा परम्परागत टिका ग्रहण, देउडा खेल, युवा नाच र सामूहिक वनभोज प्रमुख आकर्षण हुनेछन्। साथै, विभिन्न नेपाली परिकार र मनोरञ्जनात्मक प्रस्तुति समेत समावेश गरिनेछ।

सहभागिता शुल्क पुरुषका लागि १००,००० वन, महिला ७०,००० वन र दम्पतीका लागि १५०,००० वन निर्धारण गरिएको छ।

“आपसी एकता, सामूहिक उत्तरदायित्व, सुप समाज कोरियाको स्थायित्व” भन्ने मूल नारासहित आयोजना हुने उक्त कार्यक्रम सौल सिटी, गांगबुक–गु, सामयङ–रो 181 गील 256 (Nulpurun Garden) मा हुनेछ। स्थानमा पुग्न उरीशिनसन लाइन, बोक्हान्सान उई स्टेशनबाट करिब ४ मिनेट पैदल हिँड्नुपर्नेछ।

सुदूरपश्चिम समाज, दक्षिण कोरियाले विगतमा पनि पर्व विशेषमा सांस्कृतिक तथा सामुदायिक कार्यक्रम गर्दै आएको छ। यस वर्षको कार्यक्रमलाई अझ भव्य र सफल बनाउन आयोजकहरूले सम्पूर्ण नेपाली दाजुभाइ–दिदीबहिनीलाई सहभागी भई सांस्कृतिक एकता र चाडपर्वको उल्लास साट्न आग्रह गरेका छन्।