नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले पार्टीभित्रको बढ्दो असन्तुष्टि र गुटगत गतिविधिलाई चिर्दै संगठनलाई सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलिरहेका छन्। हालै उनले काठमाडौँ उपत्यकाभित्रका बहुसंख्यक केन्द्रीय सदस्यहरूसँग विशेष छलफल गरी पार्टी एकताको सन्देश दिएका छन्। यो छलफल नेपाल विद्यार्थी संघका पूर्व पदाधिकारी, बुद्धिजीवी र विभिन्न तहका नेताहरूसँगको निरन्तर संवादको निरन्तरता हो।
डा. महतले पछिल्लो समय देखिएको जेन जी आन्दोलन, हस्ताक्षर अभियान र युवा पुस्तामा देखिएको असन्तोषलाई सम्बोधन गर्ने उद्देश्यले छलफललाई अगाडि बढाएका हुन्। छलफलमा सहभागी केन्द्रीय सदस्यहरूले घाइते पार्टी सभापति शेरबहादुर देउवाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै पार्टीलाई अनुशासन, एकता र सहकार्यतर्फ उन्मुख गराउनुपर्नेमा जोड दिएका थिए।
डा. महतले पार्टीलाई केन्द्रदेखि गाउँसम्म बलियो बनाउनुपर्नेमा जोड दिँदै गुटगत गतिविधि र असन्तुष्टिपूर्ण हस्ताक्षर अभियानले पार्टीलाई कमजोर बनाउने धारणा राखे। उनले यस्ता गतिविधिहरूलाई निरुत्साहित गर्नुपर्ने आवश्यकता औंल्याए।
दसैँलगत्तै सभापति देउवाले केन्द्रीय समितिको बैठक बोलाउने तयारीबारे पनि छलफलमा बहस भएको थियो। उक्त बैठकले संगठन विस्तार, असन्तुष्टि व्यवस्थापन र नीतिगत स्पष्टता ल्याउने अपेक्षा गरिएको छ। संविधानको रक्षा र लोकतन्त्रको सुदृढीकरणलाई प्राथमिकतामा राख्दै नेताहरूले कांग्रेसलाई लोकतान्त्रिक मूल्य र मान्यताका आधारमा पुनः उभ्याउन महत्वपूर्ण निर्णय आवश्यक रहेको बताए।
राजनीतिक विश्लेषकहरूले डा. महतको यो सक्रियतालाई कांग्रेसलाई आगामी निर्वाचन र आन्दोलनमा बलियो नेतृत्वका रूपमा प्रस्तुत गर्ने आधारका रूपमा लिएका छन्। उनीहरूले यस छलफललाई केवल औपचारिकता नभई पार्टी एकता अभियानको पहिलो चरणका रूपमा व्याख्या गरेका छन्। डा. महतले आगामी दिनमा प्रदेश र जिल्ला तहमा पुगेर यस्तै प्रकृतिका छलफल गर्ने तयारी गरिरहेका छन्। डा.महतले सुरु गरेको यो पहल कांग्रेसलाई असन्तुष्टिबाट बाहिर निकाल्दै सांगठनिक एकता र लोकतान्त्रिक आन्दोलनमा प्रभावकारी मोड दिन सक्ने महत्वपूर्ण कदम हो।

