दैनिक एक हजार मेगावाट विद्युत निर्यात

आर्थिक समाचार

देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् दैनिक रुपमा औसतमा एक हजार मेगावाट निर्यात भइरहेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिएका छन् । चालू आर्थिक वर्ष २०८२/८३को साउनदेखि हालसम्म करिब १५ अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात भएको छ ।

भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र द्धिपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम हरियाणा र बिहार राज्यमा बिक्री भइरहेको छ । भारतको प्रसारण संरचनाको प्रयोग गरी बंगलादेशमा पनि दैनिक रुपमा ४० मेगावाट विद्युत् निर्यात भइरहेको छ । भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु)मा र बंगलादेशसम्म अमेरिकी डलरमा हुने गरेको छ । त्यसैले विद्युत् बिक्रीबाट भारु र डलर आम्दानी भइरहेको छ । प्राधिकरणले भारत र बंगलादेश गरी ११६५ मेगावाट विद्युत् निर्यात स्वीकृति पाएको छ ।

यसैबीच, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था र शहरी विकासमन्त्री कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरण मातहतको विद्युत् भार प्रेषण केन्द्रको अनुगमन गरेका छन् । काठमाडौंको स्यूचाटारस्थित केन्द्रको सोमबार साँझ अनुगमन गरी मन्त्री घिसिङले देशभरको विद्युत उत्पादन, प्रसारण र वितरण प्रणालीको अवस्था, ग्रिड सञ्चालन, विद्युत् माग तथा आपूर्ति व्यवस्थापन, विद्युत् निर्यात, बाढी पहिरोबाट क्षति भएका विद्युत् आयोजनाहरुलगायतका विषयमा जानकारी लिएका थिए ।