सोमित अधिकारी
सौल / दक्षिण कोरिया
हरेक वर्ष झैं यस वर्ष पनि कोरियामा आयोजित हुन गइरहेको Migrants’ Arirang Multicultural Festival (MAMF) को २० औं संस्करण आगामी अक्टोबर २४, २५ र २६ तारिखमा सम्पन्न हुने भएको छ।
경남 이주민 센터 (Gyeongnam Migrant Center) द्वारा आयोजित यस बहुसाँस्कृतिक कार्यक्रममा दक्षिण कोरिया सहित १६ राष्ट्रका प्रतिनिधित्व रहनेछ।
कार्यक्रममा सहभागी प्रत्येक राष्ट्रले आफ्नो देशको कला, संस्कृति, भेषभूषा र मौलिक परम्पराको झल्को दिने झाँकी तथा प्रस्तुती प्रदर्शन गर्ने परम्परा रहँदै आएको छ। यस वर्ष नेपालको तर्फबाट नेवारी समुदायको ऐतिहासिक “कुमारी जात्रा (इन्द्र जात्रा)” लाई मुख्य आकर्षणका रूपमा प्रस्तुत गरिने आयोजकले बताएको छ।

नेपाललाई प्रवासमा रहेर विश्व सामु चिनाउने उद्देश्यका साथ नेपाली समुदाय यस कार्यक्रमको तयारीमा जुटेको छ। साथै, एसियान म्युजिक कन्सर्ट मा नेपालका चर्चित राष्ट्रिय कलाकार मिलन नेवार को विशेष प्रस्तुती रहनेछ भने, कोरियामा रहेका स्थानीय नेपाली कलाकारहरूले पनि विभिन्न सांस्कृतिक नृत्य तथा प्रस्तुतीहरू प्रदर्शन गर्नेछन्।
कार्यक्रमलाई सफल बनाउन कोरियामा रहेका विभिन्न नेपाली संघसंस्था र समुदायहरूको सक्रिय भूमिका रहने आयोजकले बताएको छ। आयोजक टोलीले सम्पूर्ण कोरियाबासी नेपालीहरूलाई उपस्थित भई कार्यक्रमलाई भव्य बनाउन हार्दिक निमन्त्रण गरेको छ।
📅 कार्यक्रम मिति: अक्टोबर २४–२६, २०२५
📍 स्थान: 용지문화공원 (Yongji Culture Park), Changwon-si, South Korea
🕘 समय: बिहान ९:०० बजे देखि बेलुकी ६:०० बजे सम्म
