बङ्गलोर (भारत), अक्टोबर १४, २०२५। नेपाली जनसम्पर्क समिति दक्षिण भारत क्षेत्रद्वारा आयोजना गरिएको “प्रशिक्षण, आन्तरिक भेटघाट, स्वास्थ्य शिविर तथा संगठन सुदृढीकरण कार्यक्रम” साथै इन्डो–नेपाल सांस्कृतिक महोत्सव–२०२५ बङ्गलोरमा भव्य, सभ्य र ऐतिहासिक रूपमा सम्पन्न भएको छ।
प्रशिक्षण, भेटघाट र स्वास्थ्य शिविर कार्यक्रम
समितिद्वारा आयोजित मुख्य कार्यक्रमको अध्यक्षता दक्षिण भारत क्षेत्रीय उपाध्यक्ष तेज नारायण शाहले गर्नुभयो भने सञ्चालन महासचिव दिबस शाहीले गर्नुभयो। कार्यक्रमका प्रमुख अतिथि नेपाली जनसम्पर्क समिति भारतका केन्द्रीय अध्यक्ष एवं नेपाली कांग्रेसका केन्द्रीय आमन्त्रित सदस्य माननीय बालकृष्ण पाण्डे रहनु भएको थियो। त्यसैगरी सहमहामन्त्री दीपक झा, केन्द्रीय सदस्य दुर्गा आचार्य, क्षेत्रीय पदाधिकारी, शाखा प्रतिनिधि र स्थानीय नेपाली समुदायको उल्लेखनीय सहभागिता रहेको थियो।
अध्यक्ष पाण्डेज्यूको दक्षिण भारत भ्रमणको क्रममा उहाँलाई क्षेत्रीय अध्यक्ष मादव राज खडायतले बङ्गलोर एयरपोर्टमा औपचारिक स्वागत गर्नुभयो। त्यसपछि बङ्गलोर, चेन्नई (मद्रास), कोयम्बटुर र होसुर लगायतका स्थानहरूमा स्थानीय शाखा र समुदायहरूले स्वागत तथा भेटघाट कार्यक्रम आयोजना गरेका थिए। मद्रासबाट आएको केन्द्रीय सांस्कृतिक सचिव कारिराम आचार्य, क्षेत्रीय उपाध्यक्ष गङाराम आचार्य, र क्षेत्रीय सदस्य घनश्याम पौडेलको टोलीले भ्रमणमा सक्रिय सहभागिता जनाउँदै संगठन सुदृढीकरण र सदस्यता अभियानमा सहयोग पुर्याएको थियो।
इन्डो–नेपाल टिमसँगको सहकार्यमा समितिले निःशुल्क स्वास्थ्य शिविर (Health Camp) पनि सञ्चालन गरेको थियो, जसमा दक्षिण भारतका विभिन्न शहरमा बसोबास गर्ने सयौँ नेपालीहरूले स्वास्थ्य सेवा प्राप्त गरी प्रत्यक्ष लाभ लिएका थिए। चिकित्सक, स्वयंसेवक र स्थानीय नेपाली समुदायको योगदान उल्लेखनीय रहेको थियो।
अध्यक्ष पाण्डेज्यूले प्रशिक्षण सत्रमा समितिको इतिहास, वर्तमान अवस्था, प्रवासी नेपालीका समस्या, समाधानका उपायहरू, र युवाको नेतृत्व विकास विषयमा प्रशिक्षण दिनुभयो। उहाँले एकता, पारदर्शिता, र उत्तरदायी नागरिक चेतनामा जोड दिनुभयो।
इन्डो–नेपाल सांस्कृतिक महोत्सव: विशाल जनसमुदायको सहभागिता
यसै अवसरमा बङ्गलोरमा रहेको नेपाली समुदायको संयुक्त सहभागितामा इन्डो–नेपाल सांस्कृतिक महोत्सव–२०२५ भव्य रूपमा सम्पन्न भयो। कार्यक्रममा भारतका राजनीतिक नेताहरू, नेपाली र भारतीय समुदायका प्रतिष्ठित व्यक्तित्वहरू, साथै नेपालका राष्ट्रिय कलाकारहरू र भारतमा रहेका नेपाली कलाकारहरूको उल्लेखनीय प्रस्तुति रहेको थियो।
महोत्सवमा सांस्कृतिक नृत्य, संगीत, कविता र मैत्रीपूर्ण सांस्कृतिक आदान–प्रदानका माध्यमबाट नेपाल–भारत मैत्री सम्बन्ध सुदृढ पार्ने सन्देश प्रवाह गरिएको थियो। कार्यक्रमको सहआयोजकको रूपमा नेपाली जनसम्पर्क समिति दक्षिण भारत क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो। सांस्कृतिक कार्यक्रमलाई विशिष्ट अतिथिका रूपमा श्री बालकृष्ण पाण्डे सहाभागी भन्नुहुन्थियो । कार्यक्रमको उदेश्य
“नेपाल–भारतबीचको सम्बन्ध केवल भौगोलिकनजिकतामा होइन, सांस्कृतिक र आत्मिक एकतामा आधारित छ। यस्ता कार्यक्रमहरूले आपसी मैत्री, सहयोग र साझा पहिचानलाई अझ मजबुत बनाउँछन्।”
संगठन सुदृढीकरण र राजनीतिक सन्देश
कार्यक्रमको अन्त्यमा आयोजित आन्तरिक बैठकले आगामी दिनमा एकता, पारदर्शिता, युवा सशक्तीकरण, र सेवा–मुखी कार्यक्रमहरूलाई प्राथमिकता दिने नीति अंगीकार गरेको छ। अध्यक्ष पाण्डेज्यूले नेपालका वर्तमान राजनीतिक अवस्थाबारे बोल्दै भन्नुभयो
“नेपाल अहिले गम्भीर र चुनौतीपूर्ण मोडमा पुगेको छ। राजनीतिक अस्थिरता र अराजकताले लोकतान्त्रिक मूल्यहरूमा प्रहार भइरहेको छ। नेपाली कांग्रेसले आत्ममूल्यांकन गर्दै एकता र सुधारको बाटो रोज्न जरुरी छ, ताकि संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढ होस्।”
चार दिन लामो भ्रमणका क्रममा अध्यक्ष पाण्डेज्यूले दक्षिण भारतका विभिन्न शाखा, युवाहरू र समुदायसँग प्रत्यक्ष संवाद गर्दै
समस्याको समाधान, संगठन विस्तार, युवा नेतृत्व निर्माण र समाजसेवी अभियान सुदृढीकरणका रणनीति प्रस्तुत गर्नुभयो।
निष्कर्ष
दक्षिण भारत क्षेत्रीय समितिले यस पटकको प्रशिक्षण, स्वास्थ्य शिविर र सांस्कृतिक महोत्सवले प्रवासी नेपालीबीच एकता, सेवा भावना र राष्ट्रिय पहिचानको भावना सुदृढ बनेको निष्कर्ष निकालेको छ। समितिले यस्ता शिक्षा, स्वास्थ्य र सांस्कृतिक एकतामूलक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गरेको छ।
