कोरियामा रहेका नेपालीहरूद्वारा कर्णालीका घाइते जेन्जि युवा सन्तोष बोहराको परिवारलाई रु. २,२५,५०७ सहयोग

कोरियाअपडेट

सुमित अधिकारी
सिओल (दक्षिण कोरिया) ।

देशभर जेन्जि पुस्ताले भ्रष्टाचार र राजनीतिक विकृतिविरुद्ध २०८२ साल भाद्र २३ र २४ गते आयोजना गरेको ऐतिहासिक आन्दोलनका क्रममा कर्णाली प्रदेश, सुर्खेतमा प्रहरीको गोली लागी गम्भीर घाइते भएका २६ वर्षीय सन्तोष बोहरा (बिरेन्द्रनगर–२) का उपचार तथा पारिवारिक राहतका लागि कोरियामा कार्यरत नेपालीहरूले आर्थिक सहयोग अभियान सञ्चालन गरी रु. २,२५,५०७ (दुई लाख पच्चिस हजार पाँच सय सात रुपियाँ) हस्तान्तरण गरेका छन्।

कोरियामा कार्यरत नेपालीहरू विजय लामिछाने र महेश रेग्मीको नेतृत्वमा सञ्चालन गरिएको उक्त अभियानमा ९२ जना नेपाली दाजुभाइहरूले सहानुभूति स्वरूप सहयोग गरेका थिए। जम्मा भएको रकम कोरियन वन २२,३५,८१० (बाईस लाख पैंतीस हजार आठ सय दस वन) रहेको छ, जुन JRF Remittance मार्फत सन्तोषका बुबा चन्द्र बहादुर बोहराको नविल बैंक खाता नं. ७२१००१७५००६६१ मा पठाइएको हो।

सन्तोष बोहरा आन्दोलनको दोस्रो दिन अर्थात् भाद्र २४ गते गोली लागेर गम्भीर घाइते भएका थिए। हाल उनी नेपालगञ्ज शिक्षण अस्पतालमा उपचाररत छन्। गोली लागेर उनले दुवै आँखा गुमाएका छन्। राजधानीदेखि टाढा कर्णालीमा भएको यो घटनाप्रति राज्यको उदासीनताले विदेशमा रहेका नेपालीहरू भावनात्मक रूपमा गहिरो प्रभावमा परेका थिए। त्यसैले सन्तोषको उपचार तथा परिवारको राहतका लागि कोरियाबाट यो अभियान शुरु गरिएको अभियान संयोजक विजय लामिछानेले बताए।

“हामीले सन्तोषका आँखाहरू फिर्ता त दिन सक्दैनौं, तर उनको सानो छोरी र परिवारको जीवनमा थोरै उज्यालो ल्याउने प्रयास गरेका हौं,” — सह–संयोजक महेश रेग्मी ले बताए।

अभियानमा सहभागी ९२ जना दाताहरूले आर्थिक योगदान दिएका छन्। तीमध्ये केही उल्लेखनीय सहयोगदाता हुन् —

टरसिंह पुन, धर्मराज तिवारी, दुर्गा प्रसाद ढकाल, कलम कार्की, गोपाल बहादुर शाही, नेपाल कार्की र रितुराज रिजाल, जसले अभियान विस्तार र व्यवस्थापनमा विशेष सहयोग गरेका थिए।

संयोजकहरूले कोरियामा रहेका सबै सहयोगी दाताहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै भनेका छन् —

“यो सानो सहयोगले सन्तोष र उनको परिवारलाई मनोबल दिनेछ। यस अभियानले विदेशमा रहेका नेपालीहरूबीच एकताको सन्देश पनि दिएको छ।”

कुल जम्मा सहयोग रकम

👉 कोरियन वन: ₩२२,३५,८१०

👉 नेपाल रूपैयाँ (सम्पूर्ण मिलाएर): रु. २,२५,५०७

👉 अभियान बन्द मिति: २०२५ अक्टोबर १५

👉 रकम पठाइएको मिति: २०२५ अक्टोबर २८

यो अभियानले कोरियामा रहेका नेपालीहरूको सामाजिक उत्तरदायित्व र मातृभूमिप्रतिको माया झल्काएको छ।

सम्पर्क:

विजय लामिछाने — अभियान संयोजक

महेश रेग्मी — सह–संयोजक

(कोरिया)