तानसेन (पाल्पा), ११ कात्तिकः घर भित्र्याउन ठिक्क पारिएको धान वर्षाले बिगारेपछि यहाँका किसान चिन्तित बनेका छन् । मानो रोपी फलाएको मुरी भित्र्याउने बेला काटेका धान स्याहार्न नपाउँदै पानी परेपछि समस्या भएको छ ।
यहाँका विभिन्न फाँटमा पाकेका धान किसानले तिहारपर्व मनाएपछि काटेर खेतमै राखेका थिए, तर भित्र्याउन नपाउँदै पानी प¥यो । दिउँसो काटेको बाली राति परेको पानीले बर्बाद बनाएको माडीफाँटका किसान विक्रम कुमालले सुनाउनुभयो ।
खहरेकी तारा रायमाझीले पनि खेतमा थुप्रो बनाएर राखिएको धान वर्षाका कारण भित्र्याउन नपाएको बताउनुभयो । “बुधबार धान स्याहार्ने योजना बनाउनुभएको थिए । आज बिहानदेखि परेको पानीले भिजेको छ । तीन दिनपछि मात्रै पानी आएको भए पनि धान भित्र्याइसक्थँें”,उहाँले भन्नुभयो ।
यस्तै, अर्गेलीका भीम खनालको घर आँगनमा थुपारेको धान पनि भिजेर समस्या भएको छ । “सोमबार अलिकति धान स्याहारेका थियौँ, बाँकी मङ्गलबारलाई राखेका थियौंँ, पानी आइहाल्यो”,उहाँले भन्नुभयो, “पानी परेकाले धान स्याहार्न नसकिएको हो, आज आँगन भिजेको छ ।”
पोखराथोककी मीना कुमालले अधियाँ गरेको जमिनमा मजदुर लगाएर रोपाइँ गर्नुभएको थियो, तर भित्र्याउने बेला पानीले क्षति पु¥याएपछि उहाँ चिन्तित हुनुहुन्छ । “धान स्याहारेर वर्षभरिको जोहो गर्ने र बचेको धान बेचेर केटाकेटीको पढाइलगायत अन्य काममा खर्च गर्छु भन्ने सोच बनाएकी थिएँ, बेमौसमी वर्षाले सबै सपना चकनाचुर पारिदियो”, कुमालले भन्नुभयो,“दुःख गरेर फसल उब्जाए पनि स्याहार्न पाइँदैन, आफ्नो जग्गा छैन् । ठेक्कामा लिएर काम गरे पनि प्रकृतिले ठग्छ । काटेर खेतमा राखेको धान खेतमै पानीले भिजायो ।”
बाली भित्र्याउने बेला पानीले क्षति पु¥याएपछि यहाँका अधिकांश किसान चिन्तित बनेका छन् । कतिपय किसानले तिहारअघि र कतिपयले पछि पाल्पाको रामपुर, माडी, झडेवा, कचल, पूर्वखोला, अर्गली, गेझालगायतका फाँटमा पाकेका धान भित्र्याँदै थिए । केहीले पानी पर्ने भन्दै हतारहतारमा धान काटे, तर आज बिहानैदेखि परेको वर्षाका कारण काटेको धानबालीमा क्षति पुग्यो ।
कृषि ज्ञान केन्द्रकी प्रमुख अमिता पाण्डेले जिल्लामा हालसम्म आठ प्रतिशत धान काटिसकिएको र वर्षा जारी रहेका कारण क्षतिको विवरण आइनसकेको बताउनुभयो । उहाँले जिल्लाका १० वटै पालिकाका कृषि इकाइमार्फत क्षति विवरण सङ्कलनका लागि आग्रह गरिएको बताउनुभयो ।
केन्द्र प्रमुख पाण्डेले भन्नुभयो, “स्थानीय तहले पहिलेदेखि नै पानी पर्ने सूचना गरेकाले ठूलो क्षति हुनबाट भने बचेको छ । के कति क्षति भयो भनेर जिल्लाका सबै पालिकाबाट विवरण सङ्कलन भएपछि विवरण सार्वजनिक गर्नेछौंँ । ”
बिहीबारसम्म पानी पर्ने मौसम विभागले जनाएकाले काटिसकिएको धानमा केही क्षति भने हुनसक्ने केन्द्रले जनाएको छ ।
जिल्लामा ३६ हजार ५३७ हेक्टरमा धानखेती हुँदै आएकामा आठ हजार ६२० हेक्टरमा वर्षेधान, ७०५ हेक्टरमा चैतेधान र २७ हजार २१२ हेक्टरमा अन्यखेती हुँदै आएको छ । यसवर्ष भने आठ हजार २१० हेक्टरमा मात्र वर्षेधान लगाइएको कृषि ज्ञानको तथ्याङ्क रहेको छ ।

