काठमाडौँ, १३ कात्तिकः नेपाली कला, संस्कृति र नारी अध्ययनका क्षेत्रमा सक्रिय डा शशी थापा पण्डितका तीन कृति सामूहिक रूपमा लोकार्पण गरिएको छ । नेपाल आदर्श महिला सङ्घ, बालाजुद्वारा आज यहाँ आयोजित कार्यक्रमबीच ती कृति लोकार्पण गरिएका हुन् ।
कार्यक्रमका सभापति प्राडा वीणा पौड्याल, नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वउपकुलपति प्राडा जगमान गुरुङ, प्राज्ञ दिनेशराज पन्त र प्राडा पेशल दाहालले संयुक्त रूपमा ‘नेपाली कलामा कामकला’, ‘मल्लकालीन नेपालका नारीहरू’ र ‘नागार्जुन क्षेत्रको सांस्कृतिक अध्ययन’ शीर्षकका कृति सार्वजनिक गर्नुभएको हो ।
पूर्वउपकुलपति प्राडा गुरुङले नेपाललाई ‘देवभूमि’ को उपमा दिँदै यहाँको संस्कृति, परम्परा, रीतिरिवाजको गहिरो अध्ययन, संरक्षण सबै नेपालीको कर्तव्य भएको र डा थापाद्वारा लिखित कृतिहरु अध्ययनयोग्य र अनुसन्धानमुखी भएका बताउनुभयो । उहाँले भन्नुभयो, “किताब लेख्ने व्यक्तिले अपार मेहनेत र समय खर्चेर सृजना गरेका कृतिहरू पढ्नेहरूले पनि त्यसको सार बुझेर व्यवहारमा उतार्नुपर्छ । संस्कृति जोगाउने कार्य कागजमा मात्रै होइन, आचरणमा पनि देखिनुपर्छ ।”
पूर्वउपकुलपति प्राडा गुरुङले डा थापा पण्डितको योगदानलाई सम्मान गर्दै उहाँको आगामी सृजनात्मक यात्राको सफलताको कामना गर्नुभयो । प्रा डा वीणा पौड्यालले डा थापा पण्डितका कृति नेपाली कलाको अध्ययनमा नयाँ दृष्टिकोण प्रस्तुत गर्ने किसिमका भएको बताउनुभयो ।
प्राज्ञ दिनेशराज पन्तले डा थापाका कृति विगतदेखि वर्तमानसम्मका सामाजिक र सांस्कृतिक परिवर्तनलाई समेट्ने अध्ययनयोग्य दस्तावेज भएको उल्लेख गर्नुभयो । उहाँले डा थापाका यी पुस्तकहरूले केवल इतिहासको पुनरावलोकन मात्र नभई आधुनिक सन्दर्भमा नेपाली समाजको रूपान्तरणलाई पनि उजागर गर्ने बताउनुभयो ।
प्राडा पेशल दाहालले डा थापाले लामो समयको अनुसन्धान, स्थल भ्रमण र तथ्य सङ्कलनपछि यी कृति लेख्नुभएको भन्दै उहाँको परिश्रमको प्रशंसा गर्नुभयो । कृतिका लेखक डा शशी थापा पण्डितले आफ्ना कृतिहरू नेपाली कला, संस्कृति र इतिहासका विभिन्न पक्षलाई नयाँ पुस्तासम्म पु¥याउने प्रयासस्वरूप लेखिएको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाली समाजमा महिलाको ऐतिहासिक भूमिकाबारे सन्तुलित र प्रमाणिक दृष्टिकोण स्थापित गर्न ‘मल्लकालीन नेपालका नारीहरू’ कृति महत्वपूर्ण हुनेछ ।”
