एनआरटी काठमाडौँको जितमा झापा ११ पहिलो खेलबाटै बाहिरियो

खेलकुद

पथरी,  कात्तिक : नवयुग श्रेष्ठ र पुजन श्रेष्ठ टाइब्रेकरमा चुक्दा झापा–११ अन्तरराष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिन्चरे गोल्डकप प्रतियोगिताबाट बाहिरिएको छ । झापा–११ लाई हराउँदै एनआरटी काठमाडौँ भने अन्तिम चारमा प्रवेश गरेको छ ।

आज भएको अन्तिम क्वाटरफाइनलमा एनआरटी काठमाडौँले झापा–११ लाई ट्राइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गरेको हो ।

निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीबाट निर्धारित समयमा कुनै पनि गोल नभएपछि नतिजा ट्राइब्रेकरमार्फत टुङ्गो लागेको थियो । ट्राइब्रेकरमा झापाका प्रदीप बुडाथोकी र प्रेम तामाङले मात्रै गोल गरे भने नवयुग श्रेष्ठ र पुजन श्रेष्ठको प्रहार एनआरटीका गोलरक्षक प्रमोजय गच्छेदारले रोकेका थिए ।

एनआरटीका लागि सरोज घिसिङ, सनम लिम्बू, रोहन खड्गी र आकाश राईले गोल गर्दा असिम राईको प्रहार झापाका गोलरक्षक सन्दीप लिम्बूले बचाए ।

खेलको उत्कृष्ट खेलाडी एनआरटीका गोलरक्षक प्रमोजय गच्छेदार भए । उनले रु पाँच हजार प्राप्त गरे । प्रतियोगिताअन्तर्गत बुधबार हुने पहिलो सेमिफाइनल सलहेस सिराहा र पाँचथरबीच हुनेछ । बिहीबार दोस्रो सेमिफाइनलमा आयोजक पथरी–११ फुटबल क्लब र एनआरटीबीच हुनेछ जनाइएको छ ।

प्रतियोगिता यही कात्तिक २२ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले रु पाँच लाख र उपविजेताले रु दुई लाख ५० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।