काठमाडौं, ६ कार्तिक । भारत सफाई अभियानका मुख्य अभियन्ता बिन्दु भुषण दुवेले मानवीय सभ्यताको बिकास हिमालय खण्डबाट भएको बताउनु हुँदै नेपाल नै सभ्यताको मुहान रहेको आफूले पाएको धारणा ब्यक्त गर्नुभएको छ । वाग्मती सुन्दरता सरोकार मन्चले उहाँको उपस्थितिमा आयोजना गरेको सफाई सम्बन्धि अनुभव आदान प्रदान कार्यक्रममा मुख्य बक्ताका रुपमा उहाँले सफाई मानव जीबनसंग अत्यन्तै महत्व राख्ने बिषय भएको हुँदा हिमालय क्षेत्रको संबेदनशिलतालाई कमगर्न अब घर घरबाट रुख रोपौं अभियान शुरु गर्नुपर्ने बताउनु भयो । मानव जीबन सम्बेदनशिल मोडमा रहेको धारणा राख्नुहुँदै जसरी हामी आफ्नो शरिरलाई माया गर्दौं त्यसरी नै बातावरणलाई माया गर्नुपर्ने उहाँले बताउनु भयो ।
गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे र कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरी थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा सभापतिका रुपमा वाग्मती सुन्दरता सरोकार मन्चका अध्यक्ष उत्तम पुडासैनीले वाग्मती सफाई अभियानका क्रममा हासिल भएका अनुभव र सफलताका कथा प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकिकृत बिकास समितिका अध्यक्ष नरेन्द्र कुमार बस्नेत तथा आयोजना प्रमुख लिलाप्रसाद ढकालले वाग्मतीका भावी कार्यक्रमका बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा सहभागिहरुलाई वाग्मती सुन्दरता सरोकार मन्चका अपाध्यक्ष उमा गौतमले शब्दहरुद्वारा स्वागत गर्नुभएको थियो । सो अवसरमा आई डि एस नेपालका तर्फबाट प्रभा पोखरेल र गोकर्णेश्वर नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष नारायाण बहादुर सुबेदीले सफाई अभियानका बारेमा मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा पाहुनाहरुलाई वाग्मती किनारमा उत्पादन भएको तुलसीको माला लगाएर अभियन्ता गोबिन्द पुडासैनीले स्वागत गर्नुभएको थियो भने अभियन्ता रामहरी श्रेष्ठले फालिएका प्लाष्टिक संकलन गरेर आफैंले बनाएको म्याट पाहुनालाई उपहार प्रदान गर्नुभएको थियो । कार्यक्रमको संचालन संस्थाका महासचिव रामकृष्ण बरालले गर्नुभएको थियो ।
