काठमाडौं । बंगलादेशको अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवविरूद्धको अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको छ । न्यायाधीश गुलाम मुर्तजा नेतृत्वको तीन सदस्यीय इन्टरनेसनल क्राइम ट्रिब्यूनल-आइसीटीले हसिनालाई मृत्युदण्डको सजाय सुनाएको हो । ४ सय ५३ पृष्ठको फैसला अदालतले ६ भागमा सुनाएको थियो । अदालतले फैसलामा सन् २०२४ को जुलाईमा भएको प्रदर्शनमा ठूलो संख्यामा प्रदर्शनकारी मारिएको र शेख हसिनाले शान्तिपूर्ण प्रदर्शन गरिरहेका विद्यार्थीमाथि हेलिकोप्टरबाट बमसमेत खसाल्न आदेश दिएको उल्लेख गरेको छ ।
यस्तै, हसिनाको दल अवामी लिग कार्यकर्ता सडकमा उत्रिएर सुनियोजित आक्रमण गरेको र यसबारे पार्टी नेतृत्वलाई समेत जानकारी भएको अदालतले जनाएको छ । अदालतमा शेख हसिना र उहाँका मन्त्री हसनुल हक इनुबीच भएको टेलिफोन वार्ता पनि पढेर सुनाइएको थियो ।
अदालतले पूर्वगृहमन्त्री असदुज्जामान खान कमाललाई समेत मृत्युदण्डको सजाय सुनाएको छ । पूर्वप्रहरी प्रमुख चौधरी अब्दुल्ला अल मामुनलाई भने पाँच वर्षको सजाय तोकिएको छ । मामुनले सरकारी साक्षीको रूपमा बयान दिएर आफ्नो संलग्नता स्वीकार गर्नुभएको बंगलादेशी सञ्चारमाध्यमले जनाएका छन् । तीनै जना मिलेर मानताविरुद्धको अपराध गरेको र राजनीतिक नेतृत्वले दिएको आदेशका कारण प्रदर्शनकारी र अन्य नागरिकको मानव अधिकार उल्लंघन भएको ठहर अदालतले गरेको छ ।
बंगलादेशमा गत वर्ष भएको प्रदर्शनका क्रममा १४ सय जना मारिएका थिए भने ११ हजार जनालाई हिरासतमा लिइएको थियो । प्रदर्शनपछि शेख हसिना भारत भाग्नुभएको थियो । साेमबार फैसला सुनाइने भएपछि आइतबार रातिदेखि नै अदालत परिसरमा कडा सुरक्षा व्यवस्था गरिएको थियो भने फैसलाको बंगलादेश टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिएको थियो ।

