नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको अध्यक्ष पदमा रामबहादुर तामाङले उम्मेदारी दिने

कोरियाअपडेट

रमेश शिवाकोटी 

सउल, दक्षिण कोरिया।

नेपाल तामाङ घेदुङ दक्षिण कोरिया सउल केन्द्रको १२औँ महाधिवेशन (२०२५ नोभेम्बर २३) नजिकिँदै गर्दा नयाँ नेतृत्वको चयन प्रक्रियाले समुदायभित्र उत्साह, ऊर्जा र सकारात्मक चर्चा जन्माएको छ।
यसै क्रममा संस्थाको अध्यक्ष पदमा रामबहादुर तामाङले आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन्।

“समाजका लागि केही गर्नुपर्छ” भन्ने दृढ अठोटसहित उनले २०१८ बाट सुरु गरेको समाजसेवा यात्रा आजसम्म निरन्तर सक्रिय रूपमा अघि बढिरहेको छ। तत्कालीन तामाङ समाज ख्याङसाङनाम्दो–बुसान (हाल: नेपाल तामाङ घेदुङ बुसान शाखा) का संस्थापक रूपमा सुरुवात गरेका तामाङले क्रमशः सचिव, पछि उपाध्यक्ष, र एकीकरणपछि नेपाल तामाङ घेदुङ केन्द्रिय उपाध्यक्ष, साथै हाल वरिष्ठ उपाध्यक्षको जिम्मेवारी वहन गरिरहेका छन्।

यस्तै, समुदाय र अधिकारका सवालमा निरन्तर अग्रसर हुँदै उनी आदिवासी जनजाती महासंघ बुसानमा महासचिवका रूपमा पनि कार्यरत रही प्रवासी समुदाय, श्रमिक, विद्यार्थी, युवाहरूका मुद्दामा निरन्तर सक्रिय रहॅदै विभिन्न तह–स्तरका सामाजिक संस्थामा अनुभव हासिल गरिसकेको छ।यी सबै भूमिकाले तामाङ संगठनात्मक नेतृत्व, समुदाय विकास र अभियान सञ्चालनमा अझ परिपक्व देखिएको छ।

🔶 रामबहादुर तामाङ अध्यक्ष पदका प्रमुख एजेन्डाहरू
१) भाषा, धर्म, संस्कृति र पहिचानको संरक्षण–प्रवर्द्धन
तामाङ समुदायको सांस्कृतिक सम्पदा, परम्परा, इतिहास र पहिचानलाई संरक्षण गर्दै नयाँ पुस्तामा सशक्त रूपमा प्रवाह गर्ने अभियानलाई मुख्य प्राथमिकता।

२) संस्थालाई आधुनिक, पारदर्शी र डिजिटल व्यवस्थापनमा रुपान्तरण
सदस्यता प्रणाली, सूचना प्रवाह, कार्यक्रम व्यवस्थापन र वित्तीय पारदर्शितालाई डिजिटल माध्यममार्फत सुदृढ बनाउने प्रतिवद्धता।

३) दक्षिण कोरियास्थित तामाङ समुदायबीच एकता, सहकार्य र समन्वय बलियो बनाउने
सउल, बुसान, जेजुदो , गजेदो लगायत सबै क्षेत्रीय शाखाबीच सद्भाव, सहकार्य र नियमित संवाद प्रणाली स्थापनामा जोड।

४) प्रवासी तामाङहरूको सहजीकरण तथा सहयोग कार्यक्रम विस्तार
कामदार, विद्यार्थी, परिवार र आकस्मिक अवस्थाका व्यक्तिहरूका लागि Help Desk, मार्गदर्शन, कानुनी–सूचना सहयोगजस्ता कार्यक्रम सञ्चालन गर्ने।

५) युवा नेतृत्व विकास, खेलकुद, कला–साहित्य र प्रतिभा प्रवर्द्धन
युवाहरूलाई सक्रिय, सक्षम र सशक्त बनाउने उद्देश्यले प्रशिक्षण, सांस्कृतिक कार्यक्रम, खेलकुद र ज्ञान–सीप प्रशिक्षण कार्यक्रम विस्तार गर्ने योजना।

न्यूज किनारा संग कुरा गर्दै रामबहादुर तामाङ भन्नु हुन्छ —“समुदायको पहिचान, एकता र सेवा–समर्पण नै मेरो प्रमुख लक्ष्य हो। सबै सदस्यको सहभागिताले मात्र संस्थालाई अझ बृहत्तर, सक्षम र सबल बनाउन सकिन्छ।”

अध्यक्ष पदको लागि इच्छा देखाएका भनिएका उपाध्यक्ष गणेश योञ्जन, बुद्धी बहादुर स्याङतान, सचिव निर बहादुर योञ्जन, कोषाध्यक्ष पासाङ बोम्जन र सहकोषाध्यक्ष पूर्णमान तामाङ लगायतको जसरी मिडियामा हल्ला चलेपनि हल्ला मात्र भएको र यर्थातमा भने बेग्ले माहोल रहेको एक सदस्याले बताउनु भएको छ । यर्थातमा भने वर्तमान बरिष्ठ उपाध्यक्ष राम बहादुर तामाङ र वर्तमान महासचिव दावा फिन्जो तामाङ बिच नेतृत्वका लागि सहमतिको प्रयास भैरहेको सदस्याले थपे।

आगामी महाधिवेशनमा दक्षिण कोरियाका विभिन्न क्षेत्रका प्रतिनिधि, पदाधिकारी, सदस्य तथा शुभेच्छुकहरूको उत्साहजनक उपस्थिति रहने अपेक्षा गरिएको छ।अध्यक्ष पदमा रामबहादुर तामाङको उम्मेदवारीले संस्थामा सकारात्मक प्रतिस्पर्धा, नयाँ ऊर्जा र स्थायी विकासगामी सोच थपिएको समुदायले प्रतिक्रिया दिएको छ।