फूलको मूल्य आकाशियो

आर्थिक राजनीति समाचार

काठमाडौं, ९ कार्तिक । काग तिहार सुरू भएसँगै सबैका घरघरमा तिहारको रौनक छाएको छ। तिहारलाई झिलिमिलीको पर्व पनि भनिन्छ।

त्यसो त तिहार सुरू हुनुभन्दा केहीदिन अघि देखि नै राजधानी झिलिमिली भइसकेको थियो। राजधानीका व्यापारिक स्थलहरूमा तिहारका लागि चाहिने सामान किन्न मानिसहरूको भीड लागिरहेको छ। केही दिनयता राजधानीका असन, इन्द्रचोक, न्युरोड लगायतका क्षेत्रमा सामान किन्नेको भीड बाक्लिँदै गएको छ। मानिसहरूले लक्ष्मी पूजाका दिन घरलाई सयपत्रीका मालाले श्रृंगार्छन्। घरका झ्याल ढोकामा चारैतिर माला नै माला लगाइएको हुन्छ। हेर्दा यसो लाग्छ नव दुलहीजस्तै। त्यसैले घरलाई सजाउनको लागि उनीहरू फूलका माला किन्नमा व्यस्त छन्। कुकुर तिहारदेखि भाइटीकासम्म फूल अपरिहार्य चीज हो। जसले गर्दा तिहारमा फूलको माग ह्वात्तै बढेको।

तिहारकै लागि अहिले बजारमा विभिन्न किसिमका फूल तथा मालाको माग र विक्री पनि बढिरहेको व्यापारी बताउँछन्। बजारमा सबभन्दा बढी विक्री हुने सयपत्री फूलको माला त्यसपछि मखमली नै हो। असन बजारमा सयपत्री फूलको माला ७० देखि ८० रुपैयाँमा पाइन्छ। यस्तै मखमली फूलको मालाको मूल्य ४० देखि ६० रुपैयाँमा छ। यो गत वर्षको भन्दा महँगो भएको व्यापारीहरू बताउँछन्। ‘गत वर्ष यस्तै माला ५० रुपैयाँमा पाइन्थ्यो तर अहिले बढेको छ,’ फूलको माला बेचिरहेकी सविना महर्जनले भनिन्, ‘अहिले असारमा राम्रो पानी नपरेकाले त्यतिबेलानै फूल सुकेको भन्दै फूल नै महँगो भएको छ।’

फूलको माला जस्तै सयपत्री तथा मखमली फूलको गुच्छा पनि बजारमा पाइन्छ। यस्तो फूलको गुच्छाको मूल्य ५० रुपैयाँ पर्ने व्यापारीहरू बताउँछन्। यस्तै मखमली फूलको एउटा गुच्छालाई पनि ५० रुपैयाँ पर्छ। विशेषगरी लक्ष्मी पूजामा कमलको फूलले पूजा गर्ने चलन छ।

कमलको फूल प्रतिगोटा ५० रुपैयाँमा असन बजारमा विक्री भइरहेको छ। पछिल्लो समय फ्रेस फूलसँगै प्लास्टिकका फूलको पनि माग ह्वात्तै बढेको व्यापारीहरू बढाउँछन्। एक पटक किनेपछि वर्षभरि प्रयोग गर्न मिल्ने भएकाले पनि यस्तो फूल किन्न खोजेको चन्द्रागिरीकी अस्मिता रिजाल बताउँछिन्। प्लास्टिकका मालाको मूल्य फूलको मालाको भन्दा फरक भने छैन। बजारमा पाइने यस्ता फूलको विभिन्न प्रकार अनुसार फरक फरक छन्। यस्ता मालाको मूल्य ७० रुपैयाँबाट सुरू भएर ३ सयसम्म पर्ने व्यापारीहरू बताउँछन्।