रवि पराजुली
काठमाडौं ।
GKS एलुम्नाइ नेपालद्वारा आयोजित “GKS Alumni Nepal Symposium 2025” २०८२ मङ्सिर २२ गते (६ डिसेम्बर २०२५) त्रिभुवन विश्वविद्यालय, शिक्षाशास्त्र संकाय, डिनको कार्यालय, बल्खुमा सफलतापूर्वक सम्पन्न भएको छ।
GKS एलुम्नाइ नेपाल दक्षिण कोरियाको Global Korea Scholarship (GKS) अन्तर्गत स्नातक, स्नातकोत्तर तथा विद्यावारिधि अध्ययन पूरा गरेका नेपाली प्राज्ञहरूको साझा संगठन हो। नेपालबाट हरेक वर्ष करिब ८–१० जना विद्यार्थी यस छात्रवृत्तिमा छनोट भई दक्षिण कोरियाका विभिन्न विश्वविद्यालयमा अध्ययनका लागि जाने गर्छन्। दक्षिण कोरियाले विगत करिब २० वर्षदेखि निरन्तर रूपमा यो छात्रवृत्ति प्रदान गर्दै आएको छ।
छोटो समयमा नै सक्रिय बनेको GKS एलुम्नाइ नेपालले शैक्षिक, अनुसन्धान तथा व्यावसायिक सहकार्य, नेटवर्किङ विस्तार र नेपाल–कोरिया सम्बन्ध सुदृढीकरणमा उल्लेखनीय योगदान गर्दै आएको छ। सोही प्रयासअन्तर्गत यो सिम्पोजियम आयोजना गरिएको हो।
AI केन्द्रित बहुविषयक सिम्पोजियम
यस वर्षको सिम्पोजियम “Bridging Disciplines with AI: From Medical Breakthroughs to Engineering Excellence” शीर्षकमा आयोजना गरिएको थियो। कार्यक्रमलाई दक्षिण कोरियाको शिक्षा मन्त्रालयअन्तर्गतको National Institute for International Education (NIIED) तथा नेपालस्थित दक्षिण कोरियाली राजदूतावासको सहयोग प्राप्त थियो।
सिम्पोजियमको मुख्य उद्देश्य कृत्रिम बुद्धिमत्ता (AI) तथा सम्बद्ध क्षेत्रमा कार्यरत विज्ञ, शिक्षक र अनुसन्धानकर्ताहरूलाई विद्यार्थी तथा आकाङ्क्षी अनुसन्धानकर्तासँग एउटै प्लेटफर्ममा ल्याई मार्गदर्शन, प्रेरणा र ज्ञान आदान–प्रदान गर्नु थियो।
विशिष्ट उपस्थिति
कार्यक्रमको अध्यक्षता GKS एलुम्नाइ नेपालका संस्थापक अध्यक्ष तथा काठमाडौं विश्वविद्यालय, विज्ञान विद्यालय, फार्मेसी विभागका सहप्राध्यापक डा. रामकान्त लामिछाने ले गर्नुभएको थियो।
प्रमुख अतिथिका रूपमा त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायका डिन डा. बेदराज आचार्य उपस्थित हुनुहुन्थ्यो।
विशेष अतिथिमा नेपालस्थित दक्षिण कोरियाली राजदूतावासकी दोस्रो सचिव तथा कन्सुल सुश्री ली वू जिन सहभागी हुनुहुन्थ्यो।
कार्यक्रम सञ्चालन GKS एलुम्नाइ नेपालका उपाध्यक्ष डा. इन्द्रराज उपाध्याय ले गर्नुभएको थियो। सुश्री ली वू जिनले दक्षिण कोरियाका माननीय राजदूतको तर्फबाट शुभकामना सन्देश पनि वाचन गर्नुभयो।
विज्ञ प्रस्तुति र छलफल
कार्यक्रमको प्रारम्भ काठमाडौं विश्वविद्यालयका प्राध्यापक डा. सुधन झा को “The Computational Core: Architecting Robust AI for Cross-Disciplinary Breakthroughs” शीर्षकको प्रस्तुतीकरणबाट भएको थियो। उहाँले इन्जिनियरिङ र चिकित्सा क्षेत्रमा AI को उपयोगबारे प्रकाश पार्नुभयो।
त्रिभुवन विश्वविद्यालय, ICT Education Department का श्री रोमकान्त पाण्डे ले Prompt Engineering ले पारम्परिक Pedagogical Content Knowledge (PCK) लाई कसरी रूपान्तरण गर्दै वैयक्तिकृत शिक्षामा योगदान पुर्याउन सक्छ भन्ने विषयमा प्रस्तुति दिनुभयो। उहाँले AI को नैतिक प्रयोग र अत्यधिक निर्भरता नगर्न सुझाव दिनुभयो।
काठमाडौं विश्वविद्यालयका सहप्राध्यापक डा. यज्ञराज पाण्डेय ले AI को विकासक्रम, अवसर, चुनौती र जोखिमबारे चर्चा गर्दै यसको जिम्मेवार र सुरक्षित प्रयोग आर्थिक विकासका लागि अपरिहार्य रहेको बताउनुभयो।
यसैगरी श्री नारायण तिमल्सिना ले हालै सार्वजनिक गरिएको राष्ट्रिय AI नीतिको मस्यौदा प्रस्तुत गर्दै नेपालले पाँच वर्षभित्र ५,००० दक्ष AI जनशक्ति उत्पादन गर्ने, IT क्षेत्रको GDP योगदान १ प्रतिशतले वृद्धि गर्ने र Global Government AI Readiness Index को शीर्ष ५० मा पुग्ने लक्ष्य लिएको जानकारी दिनुभयो।

Healthcare Analyst तथा Health Concern Nepal का संस्थापक डा. सुभाष प्याकुरेल ले स्वास्थ्य क्षेत्रमा AI को सम्भावना र सीमाबारे स्पष्ट पार्नुभयो। उहाँले AI ले स्वास्थ्य सेवामा सहयोगी भूमिका खेल्ने तर मानव संवेदना र सहानुभूतिलाई कहिल्यै प्रतिस्थापन गर्न नसक्ने बताउनुभयो।
CIST College का एसोसिएट प्रोफेसर डा. अमित श्रेष्ठ ले Global Korea Scholarship (GKS) का अवसर, आवेदन प्रक्रिया र फाइदाबारे जानकारी गराउनुभयो।
व्यापक सहभागिता
कार्यक्रममा ६० भन्दा बढी सहभागी को उपस्थिति रहेको थियो। काठमाडौं विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय तथा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरू फार्मेसी, बायोटेक्नोलोजी, AI, डाटा साइन्स, शिक्षा, सार्वजनिक स्वास्थ्यलगायत विविध शैक्षिक पृष्ठभूमिबाट आएका थिए।
समापन सन्देश
समापन मन्तव्यमा अध्यक्ष डा. रामकान्त लामिछाने ले AI को नैतिक प्रयोग अत्यावश्यक रहेको उल्लेख गर्दै मानव कल्याण र मूल्यबिनाको AI ले मानवजातिलाई नकारात्मक असर पुर्याउन सक्ने चेतावनी दिनुभयो।
