गण्डकी, पुसः नेपालकै एकमात्र सिकार आरक्ष बागलुङस्थित ढोरपाटनको विशाल पाटनमा दगुरिरहेका घोडा यहाँको पर्यटकीय आकर्षण हुन् । ढोरपाटनमा पुग्ने जो कोहीले घोडा चढेर तस्बिर तथा भिडियो बनाएर सामाजिक सञ्जालमा राख्ने गरेका छन् । यिनै तस्बिर तथा भिडियो यतिखेर ढोरपाटनको प्रवद्र्धनको राम्रो माध्यमसमेत बनेको छ ।
सामाजिक सञ्जालका माध्यमबाट घोडा चढेका तस्बिर तथा घोडामा शयर गरेका भिडियोहरूकै कारण देश विदेशका विभिन्न ठाउँँबाट पर्यटक ढोरपाटन आउने गरेका छन् । पछिल्ला समयमा ढोरपाटनमा घोडचढी व्यवसाय राम्रैसँग फस्टाएको व्यवसायीहरू बताउँछन् ।
ढोरपाटनमा विगत लामो समयदेखि घोडा शयर गराउँदै आउनुुभएका ढोरपाटन जाने मार्गस्थित फल्लेघरका बेगबहादुर कामीका अनुसार पछिल्लो समयमा यहाँका घोडापालकहरूले राम्रै आम्दानी गरिरहेका छन् । ढोरपाटनमा सयभन्दा बढी घोडा रहेको बताउँदै उहाँले घोडाका माध्यमबाट पर्यटकले राम्रै मनोरञ्जन लिने गरेको बताउनुुभयो । सामान्यतः एउटा घोडा किन्नका लागि रु दुई लाख लगानी गर्नुपर्ने उहाँले बताउनुुभयो ।
यस वर्ष चिसो लागिसके पनि फाट्टफुट्ट आएका पर्यटकका कारण यहाँको पर्यटनमा केही राहत भएको व्यवसायी बताउँछन् । यस क्षेत्रमा घोडा शयर प्राचीनकालदेखि नै हुँदै आएकामा यसको आकर्षण अहिले पनि उत्तिकै रहेको कामीको भनाइ छ ।
ढोरपाटनमा आएका पर्यटक घोडामा नै चढेर यहाँका होमस्टे तथा होटेलबाट पाटन क्षेत्र घुम्नुका साथै धार्मिक महत्वको उत्तरगङ्गा ढोरबराहमा पुग्ने गर्दछन् । सामान्यतः घोडामा शयर नगरी तस्बिर मात्रै खिचेवापत व्यवसायीले पर्यटकबाट रु १०० सम्म लिने गर्दछन् । अन्य भिडियो बनाएको तथा घोडा शयर गरेको थप रकम लिने गरिएको छ ।
व्यवसायीहरूले १५ मिनेट घोडामा शयर गरेको रु २०० लिने बताउँदै कामीले माथि दखर्कसम्म पुगेर आएको रु तीन हजार ५०० सम्म लिने गरिएको जानकारी दिनुुभयो । “मैले यस क्षेत्रमा सम्भावना देखेर नै विगत ३० वर्षयता घोडा तथा खच्चड पाल्दै आएको छु”, कामीले भन्नुुभयो, “पछिल्लो समयमा सडक यातायातको सुविधा भएसँगै खच्चड पाल्न भने छोडेको छु ।”
कामीका अनुसार सामान्यतः घोडा जन्मिएको चार वर्षमा घोडा शयर प्रयोजनका लागि दाउने गरिन्छ । दाएर तयार भए पछि मात्र घोडा शयरका लागि प्रयोगमा ल्याइने उहाँले जानकारी दिनुुभयो । प्रत्येक शुक्रबार र शनिबार यहाँको पाटनमा घोडा शयरका लागि आउनेहरूको भीड लाग्ने गरेको उहाँले बताउनुुभयो ।
पर्यटकको बढ्दो आगमनसँगै यहाँको घोडापालन गर्दै आएका स्थानीयको आम्दानी पनि त्यतिकै बढिरहेको छ । पछिल्लो समयमा ढोरपाटनमा पर्यटकीय आकर्षण बढेको ढोरपाटन सामुदायिक होमस्टेका सञ्चालक रामबहादुर घर्ती मगरले जानकारी दिनुुभयो । पर्यटकको बढ्दो आगमनले यहाँका होटेल व्यवसायी, होमस्टे सञ्चालकका साथै घोडापालक सबैलाई फाइदा पुगेको उहाँले जानकारी दिनुुभयो । पछिल्ला समयमा ढोरपाटनमा घरवाससँगै सुविधासम्पन्न होटेल पनि बनिरहेको बताउँदै उहाँले यहाँ आउने पर्यटकलाई खान र बस्नको कुनै असुविधा नरहेको बताउनुुभयो ।
आफूहरूले होमस्टेका लागि प्याकेजसमेत बनाएको जानकारी दिँदै घर्ती मगरले आएका पर्यटकलाई चिया नास्ता सहित बेलुका मासुसहितको खाना, सुत्ने कोठा र फर्कदा सादा खानासहित कूल रु एक हजार २०० को प्याकेज राखिएको उहाँले जानकारी दिनुुभयो ।
विशेषतः ढोरपाटनमा फागुनदेखि असोज तिहारसम्म नै पर्यटकको बढी चहलपहल हुने गरेको छ । जेठको तेस्रो सातादेखि भदौको पहिलो सातासम्म ढोरपाटन उपत्यकामा ढकमक्क फुल्ने फूलमा घोडा दगुराउने, फोटा तथा भिडियो खिच्ने लहरै चल्दछ । जसले गर्दा यहाँका घोडापालक व्यवसायीको आम्दानी बढेको घर्ती मगरले बताउनुुभयो ।
घोडा पालेरै घर खर्च धान्नुुका साथै आयआर्जन बढाएको अर्का घोडा पालक राम विकले बताउनुुभयो । माथि बुकी पाटनमा फूल फुल्ने समयमा त दैनिक नै राम्रो आम्दानी हुने गरेको उहाँले अनुभव सुनाउनुुभयो । घोडाका लागि राम्रो स्याहारसुसारसँगै पोषक दानाहरू खुवाउनुपर्ने उहाँको भनाइ छ । पर्यटकको याममा त घोडाको खर्च कटाएरै दैनिक रु दुई हजारसम्म बचत हुने गरेको विकले बताउनुुभयो ।
“घोडापालन हाम्रा लागि राम्रै आम्दानी बनेको छ”, विकले भन्नुुभयो, “ढोरपाटनमा आएका अधिकांश पर्यटकले घोडा शयर गर्न रुचाउने भएका कारण पनि यो व्यवसाय रोजगारीका लागि महत्वपूर्ण विकल्प बनेको छ ।”
