भावना कार्की
सौल/दक्षिण कोरिया।
नेपाल दूतावास सिओलको आयोजनामा दक्षिण कोरियामा कार्यरत नेपाली श्रमिकहरूको मानसिक तथा शारीरिक स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले नियमित अनलाइन योग–ध्यान तथा मानसिक स्वास्थ्य कार्यक्रम सञ्चालन हुने भएको छ।
नेपाल दूतावास सिओलले ई.पी.एस. कोरिया शाखा तथा अभ्युदय योगध्यान केन्द्रसँगको सहकार्यमा उक्त कार्यक्रम हरेक शनिबार र आइतबार बिहान ८:१५ देखि ९:४५ बजेसम्म (दक्षिण कोरियाको समयअनुसार) जुम (Zoom) मार्फत सञ्चालन गर्ने जनाएको छ।
दूतावासका अनुसार दक्षिण कोरियामा रहेका नेपाली श्रमिकहरूमा देखिने तनाव, चिन्ता तथा डिप्रेसन (Stress, Anxiety and Depression – SAD) न्यूनीकरण गरी शारीरिक, मानसिक तथा आत्मिक स्वास्थ्य सुदृढ बनाउने उद्देश्यले कार्यक्रम सुरु गरिएको हो।
कार्यक्रमको औपचारिक उद्घाटन विश्व ध्यान दिवसको अवसर पारेर सन् २०२३ जुन ६ तारिख आइतबार बिहान ८:१५ बजे जुममार्फत सम्पन्न भएको दूतावासले जनाएको छ।
कार्यक्रममा सहभागी हुन इच्छुक नेपालीहरूले Zoom ID: 9767096555 र Passcode: 555 प्रयोग गरी नियमित रूपमा सहभागी हुन सक्नेछन्।
नेपाल दूतावास सिओलले दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपालीहरूलाई यस कार्यक्रममार्फत स्वास्थ्य लाभ लिन नियमित सहभागिताका लागि हार्दिक अनुरोध गरेको छ।
